ओमानमाथि नेपाल ८१ रनले विजय
काठमाडौं । आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र यूएई सम्मिलित सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले ओमानमाथि ८१ रनको फराकिलो जित निकालेको छ ।
गुलशन झाले पाँच विकेट लिएपछि नेपालले भारी अन्तरको जित निकालेको हो । नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याउने क्रममा ओमान ३९ दशमलव ५ ओभरमा अलआउट हुँदै १७५ रनमा समेटियो ।
ओमानका लागि विनायक शुक्लाले सर्वाधिक ३६ रन बनाए । यस्तै हम्मद मिर्जाले ३४, हसनैन युई वाहबले २९, हसनैन शाहले १४, जतिन्दर सिंह र नदीम खानले १२/१२ रन बनाए ।
नेपालको जितमा बलिङमा गुलशन झाले ५ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिँदै ५ विकेट लिएका हुन् । यस्तै करण केसी, नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै २५६ रन बनाएको थियो । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९४ रनको पारी खेले । उनले ७ चौका र ५ छक्का हिर्काए ।
यस्तै अर्का ओपनर अर्जुन कुमालले ४८ रन बनाउँदा आरिफ शेखले ४३ रन जोडे । दीपेन्द्र सिंह ऐरीले ३३, गुलशन झाले १७ रनको योगदान दिए ।
