विद्यार्थी र कर्मचारीतन्त्रमा दलगत प्रभावले प्रणाली कमजोर

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी र कर्मचारीतन्त्रमा बढ्दो दलगत प्रभावले प्रणाली कमजोर बनाएको जनाउँदै सरकार गम्भीर रूपमा अघि बढेको बताएका छन्। उनले वर्षौंदेखि पत्रकार, नेता, अभियन्ता तथा सर्वसाधारणले उठाउँदै आएको ‘पार्टीकरणले संस्थागत संरचना बिग्रियो’ भन्ने विषयलाई सम्बोधन गर्न अब ठोस कदम चालिएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै उनले ट्रेड युनियन खारेजी दलविरुद्धको लडाई नभएको स्पष्ट पारेका हुन् । प्रधानमन्त्री शाहका अनुसार विगतमा धेरै विद्यार्थी तथा कर्मचारी संगठनहरू पेशागत हितभन्दा दलगत स्वार्थका ‘स्लिपर सेल’ जस्तै बन्न पुगेका थिए। योग्यता र क्षमताभन्दा पहुँच र दलगत निकटतालाई प्राथमिकता दिइँदा प्रणालीप्रतिको जनविश्वास कमजोर बनेको उनले बताएका छन्।

यसै सन्दर्भमा शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत प्रभावबाट मुक्त गर्ने उद्देश्यले अध्यादेशमार्फत नयाँ व्यवस्था गरिएको प्रधानमन्त्री शाहको भनाइ छ। उक्त व्यवस्थाअनुसार अब शिक्षालयमा दलका झण्डा र कर्मचारीतन्त्रमा दलगत प्रभाव निषेध गरिनेछ।

यसले कसैको अधिकार हनन नगर्ने बरु पेशागत स्वतन्त्रता सुदृढ गर्नेछ। अब नियुक्ति, सरुवा र बढुवामा दलगत निकटता होइन, विधि, क्षमता र दक्षतालाई आधार बनाइने नीति अघि सारिने जनाइएको छ ।

सरकारको भनाइ अनुसार विद्यार्थीले राजनीति सिक्नुपर्ने भए पनि त्यो सभ्य, जिम्मेवार र विचार प्रधान हुनुपर्नेछ। त्यस्तै कर्मचारीले कुनै दलको होइन, जनताको सेवा गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिइएको छ।

यो कुनै विशेष पार्टीविरुद्धको कदम नभई समग्र प्रणाली सुधार र संस्थागत विकासतर्फको प्रयास भएको प्रधानमन्त्री शाहले दाबी गरेका छन्। देशलाई दलगत प्रभावबाट मुक्त गर्दै संस्थागत मार्गमा अघि बढाउने उद्देश्यसहित यो पहल गरिएको उनको प्रष्टोक्ति छ ।

प्रधानमन्त्री शाहले परिवर्तन भाषणले नभई निर्णयबाट आउने उल्लेख गर्दै यस अभियानमा जनताको साथ र विश्वास आवश्यक रहेको जनाएको छ। साथै, आफ्ना सबै निर्णयहरू आम नेपालीको हितमा केन्द्रित रहने प्रतिबद्धता पनि दोहोर्‍याइएको छ।

‘तपाईंहरूकै चाहनाअनुरूप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौं । हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाईंको साथ चाहिएको छ, विश्वास चाहिएको छ,’ उनले भनेका छन्, ‘किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ । हामी तपाईंहरूकै जनचाहनाबमोजिम काम गर्न सरकारमा आएका हौं । तपाईंहरू ढुक्क हुनुस्, हामी जे गर्छौं आम नेपाली जनताकै हितमा गर्छौं ।’

-धेरै पत्रकार, नेता, अभियन्ता, व्यापारी र आम जनताले वर्षौंदेखि एउटै कुरा भन्दै आएका छन्“विद्यार्थी र कर्मचारीतन्त्रलाई पार्टीकरणले बिगार्यो।” वर्षौंदेखि धेरै संगठन विद्यार्थी र कर्मचारीको हितभन्दा बढी दलका “स्लिपर सेल” बने।योग्यता भन्दा पहुँच, क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो।यसले प्रणालीप्रति नै जनताको विश्वास कमजोर बनायो।
राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षालय र कर्मचारीतन्त्रबाट दलगत राजनीति हटाउने कुरा संगठन बनाउन नसकेर गरेको होइन। चाहने हो भने आजकै दिनमा ठूला विद्यार्थी र कर्मचारी संगठन बनाउन सक्छ।तर अर्को दलगत संगठन थप्दैमा न शिक्षाको गुणस्तर बढ्छ, न कर्मचारीको सम्मान जोगिन्छ भन्ने कुरा विगतले देखाइसकेको छ। त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो ,शिक्षालयमा दलको झण्डा निषेध।कर्मचारीतन्त्रमा दलको झोला निषेध।यसले अधिकार खोस्दैन, बरु पेशागत स्वतन्त्रता बलियो बनाउँछ।अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता होइन, विधि, क्षमता र दक्षता बन्नुपर्छ।
हाम्रो प्रयास यति मात्र हो, विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन।कर्मचारीले विधि खोजून्, नेताको छहारी होइन।हामी चाहन्छौं विद्यार्थीले राजनीति सिकून् तर सभ्यता, विचार र जिम्मेवारीको राजनीति; कर्मचारीले जनताको सेवा सिकून् , कुनै दलको होइन।यो कुनै पार्टीविरुद्धको लडाइँ होइन।यो प्रणाली बचाउने प्रयास हो।यो भविष्य बचाउने प्रयास हो।यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो।शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।त्यसैले तपाइहरुकै चाहना अनुरुप अध्यादेशमार्फत यी विकृतिहरू हटाएका छौ ।
हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाइको साथ चाहिएको छ, विश्वास चाहिएको छ, किनकि परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाइहरुकै जनचाहना बमोजीम काम गर्न सरकार मा आएका हौ। तपाइहरु ढुक्क हुनुस, हामि जे गर्छौ आम नेपाली जनताकै हितमा गर्छौ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर