रास्वपाले बालेनको डिफेन्स गर्दै भन्यो, अध्यादेश सामयिक

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सत्ता र सार्वजनिक सेवाको संस्कार परिवर्तन गर्नु नै अबको मुख्य प्राथमिकता रहेको बताएका छन् । पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सांसद र मन्त्रीहरूलाई निर्देशन दिँदै उनले रास्वपा मालिक बन्न चाहनेहरूका लागि नभई सेवक र सहजकर्ताहरूको दल भएको स्पष्ट पारे ।

बैठकमा सभापति लामिछानेले सांसद र मन्त्रीबीचको समन्वयलाई प्रभावकारी बनाउन निश्चित समयको अन्तरालमा मन्त्रालयका सचिवसहितको अन्तरक्रिया गर्ने योजना अघि सारे । उनले ‘हेलो सरकार’ लाई थप प्रभावकारी बनाउँदै नागरिकका गुनासो र कारबाहीको अवस्था ट्र्याक गर्न मिल्ने गरी काम भइरहेको जानकारी दिए ।

सांसदहरूको मुख्य काम कानुन निर्माण भएको स्मरण गराउँदै सभापति लामिछानेले कानुन बनाउँदा आफैं कानुन बन्न खोज्न नहुने र कार्यक्षेत्रमा जाँदा आफ्नो मर्यादा बिर्सन नहुने बताए । विशेषगरी अन्तर्जातीय विवाहका नाममा हुने विभेद र दुर्घटना रोक्न पहल गर्न निर्देशन दिँदै उनले घटनास्थलमा सांसदहरू भावुक भएर मर्यादाबाहिर जान नहुने उल्लेख गरे ।

सुकुम्बासी समस्याका बारेमा बोल्दै उनले जोखिमपूर्ण स्थानमा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको र सरकारले कसैलाई पनि घरबारविहीन नबनाउने प्रतिबद्धता जनाए। “कसैलाई बाढीको जोखिममा राखेर भोट बैंकको राजनीति गर्नु गलत हो,” भन्दै उनले सुकुम्बासी व्यवस्थापनका लागि विशेष आयोग बनाएर काम गरिने बताए । यस्तै, खाडी क्षेत्रको द्वन्द्वले बजार मूल्यमा पारेको असरप्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो।

सरकारले ल्याएको अध्यादेशको बचाउ गर्दै सभापति लामिछानेले विगतमा जस्तो दल फुटाउन वा विपक्षीलाई थुन्न नभई आवश्यक सुधारका लागि अध्यादेश ल्याइएको स्पष्ट पारे । संवैधानिक निकायहरूमा रहेका रिक्त पदका कारण कार्यसम्पादनमा कठिनाइ भएको उल्लेख गर्दै उनले जनअपेक्षा अनुसार काम गर्न ‘नम्र राजनीतिक आक्रामकता’ आवश्यक रहेको बताए ।

संगठन निर्माणमा सबैलाई जिम्मेवार भएर लाग्न आग्रह गर्दै उनले पार्टीमा अवसर पाउनका लागि संगठनमा खटेर आफूलाई प्रमाणित गर्नुपर्ने सर्त राखे । जनप्रतिनिधिको रूपमा काम गर्दा आइपर्ने कठिनाइ सुल्झाउन आफू सधैं उपलब्ध रहेको भन्दै उनले नियमित छलफल र लिखित सुझावका लागि ढोका खुल्ला रहेको बताए ।

यस्तो छ रास्वपाको प्रतिबद्धता

१) सांसद र मन्त्रीबिच निश्चित समय अन्तरालमा मन्त्रालयको सचिवसहितको मन्त्रालयगत अन्तरक्रिया गरिनेछ।

२) सरकार फेरियो अब सत्ता र सार्वजनिक सेवाको संस्कार फेरिन आवश्यक छ। यो अबको महत्त्वपूर्ण प्राथमिकता हो।

३) “मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी हैन। यो दल सेवक र सहजकर्ताहरूको लागि हो।”

४) हेल्लो सरकारलाई अझै बढी प्रभावकारी बनाउने र गुनासो वारे हुदै गरेको काम कारवाही वारे अवस्था ट्रयाक गर्न मिल्ने हुने गरि काम हुँदैछ।

५) सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ तर प्रमुख प्राथमिकता भनेको कानुन बनाउने हो। तर त्यो क्रममा आफै कानून बन्न खोज्ने हैन।

६) अन्तर्जातीय विवाहको बहानामा समाजमा हुदै आएको बिभेद र दुर्घटना रोक्न आवश्यक छ, यसको लागि पहल गर्न निर्देशन। तर, घटनास्थलमा भावुक भएर सासंदले आफ्नो मर्यादा बिर्सन हुँदैन।

७) खाडी द्वन्द्वले बजार मुल्यमा परेको असर वारे सरकार जानकार छ, ध्यान पुगेको छ। हामी गम्भीर हुदै काम गर्दैछौ।

८) संगठन निर्माणमा सबै आफ्नो तहबाट जिम्मेवारीपुर्वक लाग्न सबैलाई अनुरोध छ।

९) जोखिमपूर्ण स्थानमा रहेको सुकुम्बासीलाई पटक पटक सूचना दिएर सुरक्षित स्थानमा सरल तरिकाले सारिएको छ। लगत सङ्कलन र ब्यबस्थापनमा सरकार जिम्मेवार भएर काम गर्दैछ। कतै कुनै थप सजकता आवश्यक छ भने ध्यानाकर्षण गराउन अनुरोध छ। ढलको छेउमा,बाढीको छेउमा बस्न बाध्य नागरिकको सुरक्षित बासस्थान वारे चिन्ता छ र सबैको भविष्य वारे चिन्ता गर्नु यो सरकारको कर्तव्य हो। देशैभरी रहेको यस्तो समस्यालाई एक बिशेष आयोग बनाएर शिघ्र काम गरिने छ। तर यो क्रममा सरकारले कसैलाई घरबार बिहिन बनाउने छैन। सरकारले घरबार बिहिन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसर वारे जिम्मेवारी लिन्छ। सरकारले कोही सुकुम्बासीहरूलाई घरबार बिहिन हुन दिने छैन, आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य छ। तर अनावश्यक राजनीतिकरण गर्नु हुँदैन। कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर “भोट बैंक” को राजनीति गर्नु गलत हो।

१०) अध्यादेशको वारेमा: बिगतमा भएको अनावश्यक दलियकरण र गलत नियुक्तिलाई नसच्याए सम्म जनताले यो सरकारबाट गरेको अपेक्षा पुरा गर्न सकिँदैन। पहिले अध्यादेश दल फुटाउन वा विपक्षीलाई थुन्न ल्याइने अभ्यास थियो। अहिलेको अभ्यास कसैलाई दुख दिन वा कसैलाई सुविधा दिन हैन यो आवश्यक सुधारको लागि हो। यो कदम, कानुनी दायरामा बसेर गरिँदै गरेको एक अभ्यास हो। कानुन, राजनीतिक ब्यबहार र लोकतान्त्रिक पद्धति प्रति राष्ट्रिय स्वतन्त्र पार्टी कति गम्भीर छ भन्ने कुरा को सुचक संसदिय समिति प्रमुख प्रतिपक्षले एक बचन माग नगर्दा पनि दिएको अभ्यासले पनि देखाउँछ। बिगतमा प्रधानमन्त्रीकै पार्टीको सांसद लेखा समिति सभापति बनेको धेरै उदाहरण छ। हामी त्यो सच्याउन चाहन्थ्यौ, ईमानदार भएर बढ्यौं।

११) कैयौ संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन। धेरै कुरामा समय कुरेर मात्र बसिरहन सकिँदैन। जनअपेक्षा अनुसार काम गर्न केही सक्रियता र नम्र राजनीतिक आक्रामकता देखाउन आवश्यक छ।

१२) नियमित छलफल हुनेछ, जनप्रतिनिधिको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै असम्भव वा कठिनाइ भए म आवश्यक सहजीकरणको लागि सधै उपलब्ध छु। सधै बैठक कुरेर पनि नबस्न र लिखित रूपमा आफ्नो कुरा राख्न अनुरोध छ। पार्टीमा कोही आउन इच्छुक हुनुहुन्छ भने स्वागत छ तर संगठनमा आएर खटेर प्रमाणित गरेर मात्र अवसरको अपेक्षा राख्न अनुरोध छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर