पन्जाब किंग्समाथि राजस्थान रोयल्सको शानदार जित

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औँ खेलमा राजस्थान रोयल्सले पन्जाब किंग्समाथि ६ विकेटको शानदार जित दर्ता गरेको छ।

चण्डीगढमा मंगलबार राति भएको उच्च स्कोरको प्रतिस्पर्धामा राजस्थानले पन्जाबले दिएको २२३ रनको विशाल लक्ष्य ४ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको हो । योसँग पन्चावले पहिलो हार व्यहोरेको छ। राजस्थानका लागि वैभव सूर्यवंशीले मात्र १६ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ४३ रन बनाए। अर्का ओपनर यशस्वी जायसवालले २७ बलमा ५१ रनको अर्धशतकीय पारी खेले।

मध्यक्रममा डोनोवन फरेराले २६ बलमा ६ चौका र ३ छक्काको मद्दतले अविजित ५२ रन बनाउँदै टिमलाई जित दिलाए। उनले छक्का प्रहार गर्दै खेल टुङ्ग्याएका थिए। शुभम दुबेले ३१ रन बनाए। फरेरा र दुबेबीच पाँचौँ विकेटका लागि ३२ बलमा ७७ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो। राजस्थानका कप्तान रियान परागलाई युजवेन्द्र चहलले आउट गर्दा टिमलाई जितका लागि ७२ रन आवश्यक थियो, जुन फरेराले आक्रामक ब्याटिङ गर्दै सहजै पूरा गरे।

पन्जाबका लागि मार्कस स्टोइनिसले अविजित ६२ रनको शानदार पारी खेले भने ओपनर प्रभसिमरन सिंहले ५९ रन जोडे। कप्तान श्रेयस अय्यरले ३० रनको योगदान दिएका थिए। राजस्थानका तर्फबाट यशराज पुञ्जाले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए। जोफ्रा आर्चर र नान्द्रे बर्गरको नाममा समान १–१ विकेट रह्यो। पराजित पञ्जाब ८ खेल खेल्दा १३ अंकसहित तालिकाको शीर्ष स्थानमा कायम छ। समान खेल खेलेको राजस्थान १२ अंकसहित तेस्रो स्थानमा छ। समान अंक भए पनि रनरेटका आधारमा आरसिबी दोस्रो स्थानमा छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर