रविको अभयदानले कति दिन टिक्ला गृहमन्त्री सुधन ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्री सुधन गुरुङलाई राजिनामा दिनु नपर्ने बताएका छन् । सभापति लामिछानेलाई अस्ति आइतबार राति भेट्न निवासमै पुगेका गृहमन्त्री गुरुङलाई तत्काल राजीनामा दिन नपर्ने बताएको रास्वपाका सभापति निकटवर्ती स्रोतले बताएको छ ।
सम्पत्ति शुद्धीकरण कसुरमा हाल हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग ‘कनेक्सन’ देखिएको भन्दै समाचार आएपछि सभापति लामिछानेले गुरुङलाई भेट्न आफ्नो निवासमा बोलाएको थियो ।
लामिछानेले सुधनको बारेमा पार्टीभित्र छानबिन गरेर जाने भएकाले तत्काल राजीनामा नदिन सल्लाह दिएको स्रोतको भनाइ छ । तर पार्टीभित्रको आन्तरिक छानविनमा गृहमन्त्री सुधनले पेश गरिएको सम्पति विवरण र शेयर खरिद ‘अवैध’ देखिए पार्टीले मन्त्रीबाट फिर्ता लिन दबाब बढेर गएको पनि रास्वपा पार्टीको दावी रहेको छ । पार्टी वृत्तमा श्रममन्त्री दीपक साहलाई खोस्ने तर सुधनमाथि कारवाही नहुने हो भने प्रधानमन्त्री र पार्टी स्वयंको छविमा धक्का पुग्ने विश्लेषण गरिएको छ । सभापति रवि लामिछानेको सुधनमाथिको अभयदानले कति दिन राजनीति धान्ने हो रास्वपाका सांसदहरू प्रतीक्षारत् छन् ।
