कांग्रेसमा क्रियाशील सदस्यतालाई लिएर विवाद
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको क्रियाशील सदस्यता खारेज गर्ने नभई व्यवस्थित र अद्यावधिक गर्ने अभियान सुरु गरिएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनीहरूले पछिल्लो समय ‘क्रियाशील सदस्यता खारेज हुँदैछ’ भन्ने भ्रम फैलिएको भन्दै त्यसलाई असत्य र भ्रामक प्रचारको संज्ञा दिएका छन्।
पार्टीले सदस्यता प्रणालीलाई सुदृढ, पारदर्शी र प्रभावकारी बनाउन अद्यावधिक प्रक्रिया अघि बढाएको उनीहरूको भनाइ छ। महामन्त्रीद्वयले यस अभियानले संगठनलाई तल्लो तहसम्म मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्। उनीहरूले नवीकरण प्रक्रियाले पार्टीभित्र अनुशासन, उत्तरदायित्व र एकता थप सुदृढ हुने बताएका छन् ।
विगतका अनुभवबाट सिक्दै यसपटक सदस्यता व्यवस्थापनमा प्रविधिको प्रयोग र प्रक्रियागत सुधार गरिएको पनि उनीहरूले बताएका छन्।
महामन्त्रीद्वयले सम्पूर्ण क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता अद्यावधिक गर्न तथा नयाँ सदस्यहरूलाई पार्टीमा आबद्ध हुन आह्वान गर्दै संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्।
यसअघि इतर समूहबाट कार्यवाहक सभापतिको नाममा पूर्णबहादुर खड्काले आगामी वैशाख २८–३१ मा काठमाडौंमा हुने तय गरिएको १५औं महाधिवेशनको कार्यतालिकाभित्रै सदस्यता नवीकरण तथा वितरण भइसकेको अवस्थामा पुनः सदस्यता खारेज वा नयाँ प्रक्रिया थाल्ने कुरा अवैधानिक र पूर्वाग्रही भएको उल्लेख गरेका थिए ।
उनले महाधिवेशन नभई फेरि सदस्यता नवीकरणको कुरा उठाउनु अनुचित भएको भन्दै छुटेका सदस्यलाई अवसर दिँदै पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै महाधिवेशन सम्पन्न गरिने बताएका थिए ।
