आरसीबीद्वारा मुम्बई इन्डियन्स १८ रनले पराजित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को २० औँ खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)ले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ ।
मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार राति सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको आरसीबीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २४० रनको विशाल योगफल खडा गरेको थियो। आरसीबीका लागि फिल साल्ट, विराट कोहली र राजीव पार्टीदारले अर्धशतक बनाए। २४१ रनको कठिन लक्ष्य पछ्याएको घरेलु टोली मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन मात्र बनाउन सक्यो।
यसअघि, पहिले ब्याटिङ गरेको आरसीबीका लागि ब्याटरले विष्फोटक प्रदर्शन गरेका थिए। मुम्बईका बलरलाई दबाबमा राख्दै आरसीबीले चालु सिजनकै उच्च स्कोरमध्येको एक खडा गर्यो। यो जितसँगै आरसीबीले तालिकामा महत्त्वपूर्ण २ अंक जोडेको छ भने मुम्बईले घरेलु मैदानमा हारको सामना गर्नुपरेको छ। यो जितसँगै आरसिबी ६ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ भने मुम्बई समान चार खेल खेल्दा दुई अंकसहित आठौं स्थानमा छ।
