क्रिकेटर करण केसी कारबाहीमा
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका खेलाडी करण केसीलाई एक खेलको प्रतिबन्ध र शतप्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरेको छ । जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका क्रममा अम्पायरको निर्णयप्रति सामाजिक सञ्जालमार्फत अशोभनीय अभिव्यक्ति दिएको ठहर गर्दै सङ्घले सो कारबाही गरेको हो ।
सङ्घद्वारा आइतबार जारी विज्ञप्ति अनुसार, प्रतियोगिताका खेलहरू सञ्चालन भइरहेको अवस्थामा केसीले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा खेल भावना विपरीत रहेको पाइएको छ । सो अभिव्यक्तिप्रति सङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित सरोकारवालासँगको समन्वयमा अनुशासनको कारबाही अगाडि बढाएको जानकारी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल पुलिस क्लबका खेलाडी करण केसीले अम्पायर प्रति सामाजिक सञ्जालमार्फत व्यक्त गरेको अभिव्यक्ति खेल भावना अनुरूप नभएको ठहर गरिएको छ । सोही बमोजिम उनलाई प्रधानमन्त्री कपको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरिएको छ ।”
यस कारबाहीसँगै केसीले जारी प्रतियोगिताको आगामी एक खेल खेल्न पाउने छैनन् भने उक्त खेलबापत प्राप्त हुने पारिश्रमिक गुमाउने छन् । खेलको मर्यादा र अनुशासन कायम राख्नका लागि यस्तो कदम चालिएको सङ्घका प्रवक्ता छुम्बी लामाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
