कांग्रेसले वैशाख ४ गते संसदीय दलको नेता छान्ने
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा दलको नेता वैशाख ४ गते चयन गर्ने भएको छ । पार्टीका सहमहामन्त्री तथा निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीका अनुसार निर्वाचन तालिका वैशाख २ गते प्रकाशन गरिने छ । उनले दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको बताए । सहमतिको प्रयास जारी रहे पनि निर्वाचन प्रक्रियामा पनि जानुपर्ने उनको भनाइ छ ।
कांग्रेस संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यलगायत अन्य सांसद इच्छुक देखिएको छ । कांग्रेस संसदीय दलको नेता नै प्रमुख प्रतिपक्षी दलको नेता बन्नेछ । प्रमुख प्रतिपक्षी दलको नेता न्याय परिषदलगायत अन्य संवैधानिक भूमिकामा रहने संवैधानिक व्यवस्था रहेको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसको प्रत्यक्ष र समानुपातिक गरी जम्मा ३८ सिट रहेको छ ।
