उपसभामुखमा श्रम संस्कृति पार्टीलाई रास्वपाको समर्थन
काठमाडौं । उपसभामुखको आज हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ । रास्वपाको यो निर्णयसँगै श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुर उपसभामुख बन्ने निश्चित देखिएको छ ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको संसदीय दलको बैठकले उपसभामुखमा ठाकुरलाई मतदन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनु भयो । उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार रहनु भएको छ ।
रास्वपाप्रति राप्रपाको कटाक्ष
यसैबीच राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले रास्वपाको सभामुख रवि लामिछानेले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि आफूहरुले उपसभामुख पदमा उम्मेदवारी दिएको बताए ।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उपसभामुख पदको उम्मेदवारी प्रस्तुत गर्दै उनले उपसभामुख पद आफूहरूको प्राथमिकतामा नरहेको बताए । उनले भने,‘उपसभामुखको पद हाम्रा लागि प्राथमिकता थिएन र छैन् पनि । तथापी संसदको ठूलो दलबाट नै प्रस्ताव आएपछि अन्य पूराना दल र हामी परिवर्तन खोज्ने राजनीतिक दलबीचको ध्रुविकरणको संभावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने टुंगोमा पुगेका थियौं । सभापतिको सहयोगको आश्वासन प्राप्त गरेपछि उपसभामुखमा उम्मेदवारी दिएका हौं । ’
