रास्वपा राजनीतिक प्रतिवादमा : ओली र बादलमाथि कडा टिप्पणी
काठमाडौं । प्रतिनिधिसभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी विपक्षी दलहरूसँग राजनीतिक प्रतिवादमा उत्रन थालेका छन् । राजनीतिक प्रतिवादको थालनी आज बसेको प्रतिनिधिसभाको बैठकमा उक्त पार्टीका सांसद पुरुषोत्तम यादवले गरेका हुन् ।
सांसद यादवले सदनमा भने, जेनजी आन्दोलनको माग न्याय, समानता र अधिकार रहेको कसैले कहिले पनि बिर्सन हुँदैन ।” उनले अगाडि भने, ‘आज जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने थियो त्यो हस्पिटलको बेडमा छ । त्यही बेडबाट कुविचार यो सम्मानित सदनसम्म पठाउँदैछ । सभामुख महोदय, जुन भूतले कमरेड केपी ओलीलाई छलेको थियो । त्यही भूतले आज कमरेड बादललाई पनि छलेको देखिन्छ ।’
सांसद यादवको यो खरो टिप्पणीपछि नेकपा एमालेका सांसद गुरु बरालले प्रतिवाद गर्दै ओलीलाई गरेको तुच्छ व्यवहार घोर आपत्ति व्यक्त गर्दै यो अभिव्यक्ति अभिलेखबाट हटाउन माग गरे । स्मरण रहोस् जेनजी आन्दोलनको बखतमा पुरुषोत्तम यादव सामाजिक सञ्जालमाथि तत्कालीन ओली सरकारले लगाएको प्रतिबन्धका विरुद्ध माइती घर मण्डलामा विरोध प्रदर्शन गर्न काठमाडौं जिल्ला प्रशासनमा अनुमति माग्न जानेमध्ये प्रमुख थिए । जेनजी आन्दोलनको त्यतिबेलाको दमनकारी घटनाको उनी प्रत्यक्षदर्शी एवं साक्षी हुन् । फागुन २१ पछिको प्रतिनिधिसभाको निर्वाचनपछि यादव रास्वपाको समानुपातिकतर्फबाट सांसद भएका हुन् ।
