कार्की आयोगको प्रतिवेदन गुपचुप गरिएकोमा गगन थापाको चर्को असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले प्रतिवेदन सार्वजनिक गरी पूर्ण कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। गत भदौ २३ र २४ गते भएको नवयुवा विद्रोहका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने बताए । घटनाको सत्य अन्वेषण र न्याय निरुपणका लागि अब बन्ने सरकारले समेत पहलकदमी लिनुपर्ने उनको भनाइ छ ।

‘२०८२ साल भाद्र २३ र २४ गतेको नवयुवा विद्रोहको क्रममा भाद्र २३ गतेको राज्यशक्तिको चरम दुरुपयोग र भाद्र २४ गतेको हिंसा, निजी तथा सार्वजनिक सम्पतीको क्षतिको विवरण तथा मानवीय क्षतिसमेत भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाहरुको निष्पक्ष छानविन, सत्य अन्वेषण र न्याय निरुपण हुनुपर्छ,’ थापाले भने, ‘ घटनामा दोषिहरुलाई कानूनी कठघरामा उभ्याइ न्याय सुनिश्चित गर्नुपर्छ । गौरीबहादुर कार्कीज्यूको नेतृत्वमा बनेको आयोगको प्रतिवेदन निर्वाचनभन्दा पहिले नै सार्वजनिक हुनुपथ्र्यो । यसबारेमा हामी सरकारको धारणा पनि माग गर्दछौँ । अहिले तत्काल सार्वजनिक हुनुपर्छ । प्रतिवेदन सार्वजनिक पनि होस् र त्यसको कार्यान्वयन पनि होस् ।’

उनले राज्यशक्तिको दुरुपयोग र हिंसा मच्चाउनेमाथि कारबाही नगरिए मुलुकले फेरि उही नियतिको सामना गर्नुपर्ने अवस्था आउने चेतावनी पनि दिए ।

देउवाले पार्टीका उम्मेदवारलाई भोट माग्नु पर्दैन ?

थापाले पूर्वसभापति शेरबहादुर देउवाले पार्टीका उम्मेदवारलाई भोट नमागेकोप्रति असन्तुष्टि जनाए। उनले भने, ‘एउटा क्षेत्रमा ५/६ पटक उम्मेदवार भएको नेता मसँग असन्तुष्टि होला, तर त्यही क्षेत्रमा आफू उम्मेदवार बन्दै गर्दा झोला बोकेर हिँडेको साथी उम्मेदवार बन्दै गर्दा एक पटक निर्वाचन क्षेत्रमा टेक्नुपर्दैन? त्यो निर्वाचन क्षेत्रमा एक पटक मत माग्नुपर्दैन?’

आगामी महाधिवेशनतर्फ केन्द्रित हुन आग्रह

थापाले पार्टीका सबै संरचनालाई आगामी महाधिवेशनतर्फ केन्द्रित हुन आग्रह गर्दै प्रक्रिया अघि बढाउन कुनै अवरोध नहुने स्पष्ट पारे। उनले विशेष महाधिवेशनपछिको परिस्थितिलाई सामान्यीकृत गर्दै अबको संगठनात्मक प्राथमिकता नियमित महाधिवेशन रहेको धारणा व्यक्त गरे ।

उनका अनुसार विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व गठन भइसकेको र सोही आधारमा पार्टीले निर्वाचनमा सहभागिता जनाइसकेको सन्दर्भमा अब त्यसअघिको सहभागिता वा असहभागितालाई आधार बनाएर विभाजन सिर्जना गर्न नहुने उल्लेख गरे।

थापाले महाधिवेशन प्रक्रियामा सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै कुनै पनि तहका नेताहरूलाई पूर्वाग्रहका आधारमा मूल्यांकन नगर्ने स्पष्ट पारे। उनले पार्टीभित्र समावेशी सहभागिता सुनिश्चित गर्दै आगामी संगठनात्मक गतिविधि सञ्चालन गरिने बताएका छन्।

हतास भएर राजीनामा नदिएको

थापाले निर्वाचनपछि हतास भएर राजीनामा नदिएको बताए । जवाफदेहिताको लागि लागि आफूले राजीनामा दिएको उनले बताए । निर्वाचनलगत्तै राजीनामा दिन चाहे पनि निर्वाचनका प्रक्रिया बाँकी रहेकोले आफूले ढिलोगरी राजीनामा दिएको उनले बताए । टिमको कप्तानको रूपमा निर्वाचनमा गएकोले आफूले जिम्मेवारी लिनुपर्छ भनेर राजीनामा दिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर