गगनको राजीनामा फिर्ता हुनुपर्नेमा सबै एकमत

काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टी सभापति गगन थापाले दिनुभएको राजीनामा फिर्ता गर्नुपर्ने पक्षमा शतप्रतिशत केन्द्रीय सदस्य एकमत रहेको बताउनुभएको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठकबारे जानकारी दिँदै प्रवक्ता चालिसेले हालसम्म धारणा राख्ने ४६ जना केन्द्रीय सदस्य सबै राजीनामा अस्वीकृत गर्नुपर्ने पक्षमा रहेको बताउनुभयो । उहाँका अनुसार बैठक मुख्यतः निर्वाचन समीक्षा र सभापतिको राजीनामासम्बन्धी दुई विषयमा केन्द्रित छ ।

बैठकमा सभापतिको राजीनामा अस्वीकृत गर्ने प्रस्तावसमेत प्रस्तुत गरिएको छ । प्रवक्ता चालिसेले भन्नुभयो, “निर्वाचनको समीक्षा र सभापतिको राजीनामाका विषयमा छलफल भइरहेको छ । बैठकमा राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पनि सँगै छ, त्यसमा आधारित भएर अधिकांश साथीले राय राख्नुभएको छ । हालसम्म बोल्ने सबै केन्द्रीय सदस्यले राजीनामा फिर्ता हुनुपर्नेमा एकमत जाहेर गर्नुभएको छ ।”

प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीले पराजय बेहोरेपछि सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर