सीके राउत संसदीय राजनीतिबाट संन्यास ग्रहण
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय (पदको) राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । चुनावी राजनीतिबाट टाढा रहने निर्णय गरे पनि उनले पार्टीको नेतृत्व र ‘संघर्षको राजनीति’ लाई भने निरन्तरता दिने स्पष्ट पारेका हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष राउतले आफू राजनीतिबाट हराउन खोजेको नभई भूमिका मात्र परिवर्तन गर्न लागेको बताएका छन् । ‘संसदीय राजनीतिबाट संन्यास लिने तर संघर्षको राजनीति जारी राख्ने मेरो निर्णय हो ,’ उनले लेखेका छन् , ‘पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउनेछु । म सार्वजनिक रूपमा प्रष्ट पार्न चाहन्छु कि म पदको राजनीतिबाट टाढा रहनेछु , तर यसको अर्थ राजनीतिबाट बीचमै हराएको होइन ।’
‘जनमत पार्टीलाई आगामी चुनावका लागि बलियो शक्तिको रूपमा तयार पार्न म कटिबद्ध छु ,’ उनले उल्लेख गरेका छन् । यसैगरी उनले लेखेका छन्, ‘पार्टीको नेतृत्व लिन नरेन्द्र प्रसाद चौधरीज्यू लगायतका साथीहरूलाई जनकपुरमा बोलाएर पटक–पटक आग्रह गरेको थिएँ ,’ उनले फेसबुकमा लेखेका छन् , ‘तर उहाँहरूले नमानेपछि बाध्य भएर म आफैँ अध्यक्ष बन्नुपरेको थियो ।’
