बालेनलाई गहिरो धक्का, निकट सहयोगीले चुनाव हारे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नव निर्वाचित सांसद एवं प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन शाहलाई आफ्ना निकट सहयोगीको चुनावी हारले धक्का लागेको छ । उनका दाहिने हात भूपदेव शाहले अछाम–२ बाट चुनाव हारेका छन् ।
बालेन काठमाडौं महानगरपालिकाका मेयर रहँदा शाह स्वकीय सचिवको भूमिकामा थिए । देशभर घन्टीको प्रचण्ड लहर आउँदा पनि अछाममा भूपदेवको राजनीतिक स्थान चौंथोमा सीमित रह्यो ।
अछाम निर्वाचन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार यज्ञबहादुर बोगटी विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार बोगटीले ९ हजार ५१८ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन् ।
उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका पुष्प बहादुर शाहले ९ हजार ४६ मत ल्याए भने नेकपा (नेकपा) का बलबहादुर कुँवरले ६ हजार ४९३ मत प्राप्त गरे । यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भुपदेव शाह भने चौथो स्थानमा सीमित भए । उनले ४ हजार ५६२ मत मात्रै प्राप्त गरे ।
