दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा
काठमाडौं । फिन एलेनको शतकमा न्युजिल्यान्डले बुधबार दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै टी–२० विश्वकपको फाइनलमा पुगेको छ । एलेनले ३३ बलमै शतक बनाएपछि न्युजिल्यान्डले कोलकाताको इडेन गार्डेनमा १ सय ७० रनको लक्ष्य १३ ओभरभित्र १ सय ७३ रन बनाउँदै पूरा गर्यो ।
‘सुपर एट’ बाट पाकिस्तानलाई रन रेटमा मात्र उछिनेर सेमिफाइनलमा पुगेको न्युजिल्यान्डले आइतबार हुने फाइनलमा भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल बिहीबार मुम्बईमा हुँदै छ भने फाइनल अहमदाबादमा हुनेछ ।
भारतले आइतबार मात्र यही मैदानमा ‘सुपर एट’ को खेलमा वेस्ट इन्डिजले बनाएको १ सय ९६ रनलाई पछ्याएको थियो । न्युजिल्यान्डले पनि त्यही लयलाई निरन्तरता दिँदै दोस्रो पटक फाइनलमा पुगेको हो । न्युजिल्यान्डले अहिलेसम्म टी–२० विश्वकप जित्न सकेको छैन ।
१३ औं ओभरको पहिलो ५ बलमा एलेनले मार्को यानसेनको लगातार बलमा ३ चौका र २ छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गरी न्युजिल्यान्डलाई विजय दिलाएका थिए । एलेन र टिम सेफर्टले पहिलो विकेटमा १ सय १७ रनको साझेदारी गरी न्युजिल्यान्डको विजय आधार तयार पारे । सेफर्टले ३३ बल खेली ५८ रन बनाए । उनले ७ चौका र २ छक्का प्रहार गरे । रचिन रवीन्द्र ११ बल खेली २ चौका प्रहार गर्दै १३ रनमा अविजित रहे ।
सेमिफाइनलअघि प्रतियोगितामा दक्षिण अफ्रिका एक मात्र अपराजित टोली थियो । तर दुई वर्ष फाइनलमा भारतसँग पराजित दक्षिण अफ्रिका पुनः एक पटक आईसीसीका मुख्य प्रतियोगितामा निर्णायक खेलमा चुक्न पुग्यो ।
यसअघि यानसेनको अविजित ५५ रनमा दक्षिण अफ्रिकाले ७७–५ को स्थितिबाट उठेर १६९–८ को स्कोर बनाएको थियो । स्पिनरद्वय रवीन्द्र र कोल म्याककोनीले २–२ विकेट लिँदा खुम्चिएको दक्षिण अफ्रिकाबाट ट्रिस्टन स्टब्स र यानसेनले ७३ रनको साझेदारी गरे ।
स्टब्सले २४ बल खेली ५ चौका र १ छक्कासहित २९ रन बनाए । यानसेनले ३० बलको इनिङ्समा २ चौका र ५ छक्का प्रहार गरेपछि दक्षिण अफ्रिकाले चुनौतीपूर्ण स्कोर बनाएको थियो । म्याककोनीले दोस्रो ओभरमै आफ्नो अफ स्पिनबाट क्विन्टन डी ककलाई १० रनमा आउट गरे भने अर्को बलमा रायन रिकेल्टनलाई । डेवाल्ड डेभिसले उनको ह्याट्रिक विकेटलाई रोकेका थिए ।
लकी फर्गुसनको बलमा रवीन्द्रले मिडविकेटमा क्याच छाड्दा कप्तान एडेन मारक्रम २ रनमा थिए । तर मारक्रमले त्यसको खासै फाइदा उठाउन सकेनन् । देब्रेहाते स्पिनर रवीन्द्रले उनलाई डिपमा डारेल मिचेलबाट १८ रनमा क्याच गराए । ग्लेन फिलिप्सले पनि डेबिड मिलरको ३ रनमा क्याच छाडिदिए । तर रवीन्द्रले ५ बलपश्चात् उनलाई ६ रनमा मिचेलबाट पुनः लङ अनमा क्याच गराए ।
जिम्मी निसमले ब्रेभिसलाई ३४ रनमा आउट गरेपछि दक्षिण अफ्रिकाले १०.२ ओभरमा आफ्नो आधा टोलीलाई गुमाइसकेको थियो । ब्रेभिसले २७ बलमा ३ चौका र २ छक्कासहित ३४ रन बनाए । फर्गुसनले स्टब्सलाई बोल्ड गरे भने यानसेनले छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गरेका थिए । न्युजिल्यान्डमा आफ्नो बच्चा जन्मिएपछि मंगलबार राति मात्र भारतमा टोलीमा समावेश भएका तीव्र बलर म्याट हेनरीले अन्तिम ओभरमा कोर्बिन बोस्क र कागिसो रबाडालाई आउट गरे ।
