वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाकाे सहज जित
काठमाडौं । कप्तान एइडेन मार्क्रमको शानदार ब्याटिङमा आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि सहज जित हासिल गर्दै सेमिफाइनलको नजिक पुगेको छ । बिहीबार अहमदाबादमा भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको १७७ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.१ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो । कप्तान एइडेन मार्क्रमले ४६ बलमा ७ चौका र ४ छक्कासहित अविजित ८२ रन बनाए भने रायन रिकेल्टनले अविजित ४५ रन बनाए । क्विन्टन डिककले आउट हुनुअघि ४७ रन बनाए । वेस्ट इन्डिजका रस्टन चेसले एकमात्र विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो । रोमारियो शेपहर्डले अविजित ५२ रन बनाए भने जेसन होल्डरले ४९ रन बनाए । ८३ रनमा ७ विकेट गुमेको अवस्थाबाट शेपहर्ड र होल्डर मिलेर ८९ रनको साझेदारी गरेका थिए । ब्रान्डन किङले २१ रन बनाए । दक्षिण अफ्रिकाका लागि लुङ्गी एङ्गिडीले ३ विकेट लिँदा कगिसो रबाडा र कर्बिन बोशले २-२ विकेट लिए ।
