हर्क साम्पाङको प्रश्नले बालेनलाई पूर्वमा अप्ठेरो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीको इटहरीमा आयोजना गरेको प्रादेशिक सभामा नेता बालेन साहले धरानको विकास र विशेषगरी खानेपानी समस्याबो अभिव्यक्त धारणप्रति सामाजिक सञ्जालमार्फत आलोचना गरेका छन् ।

साम्पाङले प्रश्न गर्दै लेखेका छन्, ‘त्यत्रो ठुलो सभामा नो एमसिसी भन्ने हिम्मत भयो कि भएन ? अनि ७४ लाख सहकारी पीडितहरूका बारेमा केही बोलियो कि नाइँ ?’ साम्पाङले रास्वपाको उक्त सभाले सिंहदरबार जलाउने जस्तो विवादित अभिव्यक्तिलाई कुन रूपमा पुष्टि गर्‍यो भन्दै व्यङ्ग्य समेत गरेका छन् । सुकुम्वासी र मजदुरका मुद्दामा रास्वपा अनुदार रहेको सङ्केत गर्दै उनले लेखेका छन्, ‘किसानलाई फोहोर भन्नेले मजदुरबारे के भन्यो ? सुकुम्वासीका बस्तीमा डोजर चलाउने कुरामा के जवाफ छ ?’

इटहरीमा शनिबार सम्पन्न कोशी प्रदेशस्तरीय आमसभामा रास्वपा नेता बालेनले धरानको खानेपानी समस्याको विषयलाई प्राथमिकताका साथ उठाएका थिए । उनले रास्वपा सरकारमा गएपछि धरानको प्यास मेट्ने दाबी गरे । उनले करिब ५ अर्ब रुपैयाँको लागतमा सप्तकोशीको पानी लिफ्टिङ प्रविधिमार्फत धरान पुर्‍याउने योजना सुनाएका थिए ।

सो क्रममा नेता साहले वर्तमान सरकार र जनप्रतिनिधिको कार्यक्षमतामाथि पनि प्रश्न उठाएका थिए । उनले भने, ‘अहिलेको सरकारले के गर्‍यो ? जनप्रतिनिधिहरूको पहुँच पुग्यो कि पुगेन ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर