टी-२० विश्वकप : भारतद्वारा पाकिस्तान ६१ रनले पराजित
काठमाडौं । टी-२० विश्वकपमा भारतसँग ६१ रनको हारका बावजुद पाकिस्तानले अनौठो कीर्तिमान बनाएको छ। टी-२० विश्वकपको इतिहासमा पहिलो पटक पाकिस्तानले एकै खेलमा ६ जना स्पिनरको प्रयोग गरेको हो। विश्वकपको कुनै पनि खेलमा ६ जना स्पिनरसँग बलिङ गराउने पाकिस्तान पहिलो टोली बनेको छ। पाकिस्तानले भारतविरुद्धको यस खेलमा कुल १८ ओभर स्पिनरमार्फत बलिङ गराएको थियो।
सँधै तीव्र गतिका बलर (पेसर) हरूको वर्चस्व रहने पाकिस्तानी टोलीले यस खेलमा मात्र दुई ओभर फास्ट बलिङ गराएको थियो। टोलीका प्रमुख बलर शाहीन शाह अफ्रिदीले २ ओभर बलिङ गरे पनि उनी निकै महँगो सावित भए।
यसअघि पाकिस्तानले सन् २०१२ अक्टोबर २ मा कोलम्बोकै मैदानमा अस्ट्रेलिया विरुद्धको खेलमा १८ ओभर स्पिनरबाट बलिङ गराएको इतिहास थियो। त्यतिबेला तीव्र गतिका बलर उमर गुलले २ ओभर बलिङ गरेका थिए र उक्त खेलमा पाकिस्तान विजयी भएको थियो। तर, यसपटक भारतविरुद्धको खेलमा भने ६ स्पिनरको रणनीति सफल हुन सकेन। जितसँगै भारतीय टोली जारी विश्वकपको सुपर-८ मा पुग्न सफल भएको छ। सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६१ रनले हराएको हो ।
योसँगै भारतले सुपर एटमा स्थान पनि बनाएको छ । पराजित भए पनि यसअघिका दुई खेल जितेको पाकिस्तानको पनि सम्भावना भने कायमै छ । भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमै अलआउट भयो ।
उसका लागि उस्मान खानले ४४ रन बनाउँदा अन्य ब्याट्सम्यान फल्प सावित भए । शादाब खानले १४ रन तथा फहिम अश्रफले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पाकिस्तानको इनिङ्स ध्वस्त पार्न जसप्रित बुमराह, हार्दिक पाण्ड्या, वरुण चक्रवर्ती र अक्षर पटेललले दुई–दुई विकेट लिए भने कुलदीप यादव र तिलक वर्माले एक–एक सफलता हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १७५ रन जोड्यो । इशान किशनले विष्फोटक पारी खेले । ४० बल खेलेका उनले १० चौका र ३ छक्काको मद्दतले ७७ रन जोडे । यस्तै, कप्तान सूर्यकुमार यादवले ३२ तथा तिलक वर्माले २५ रन बनाए । शिवम दुबेले १७ बलमा २७ रनको योगदान दिए । रिंकु सिंह ११ रनमा अविजित रहे । विरामी भएर आजको खेलमा पुनरागमन गरेका अभिषेक शर्मा भने खाता नखोली पभेलियन फर्किए ।
यस्तै, हार्दिक पाण्ड्या पनि शून्य रनमै आउट भए । बलिङतर्फ पाकिस्तानका सइम अयुवले तीन तथा सलमान अघा, उस्मान तारिक र शाहिन शाह अफ्रिदीले एक–एक विकेट लिए । भारतले पहिलो खेलमा अमेरिकालाई २९ रनले हराएको थियो भने दोस्रो खेलमा नामिबियालाई ९३ रनले पराजित गरेको थियो । अर्कोतर्फ पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३ विकेटले हराएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ३२ रनले पराजित गरेको थियो ।
