कांग्रेसले आफ्ना प्रतिस्पर्धी पार्टीहरूलाई गाली नगर्न परिपत्र

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन केन्द्रित भएर पार्टी मातहत निकायमा ३४ बुँदे पत्र पठाएको छ । परिपत्रमा आपसी असमझदारी र आन्तरिक विमतिका सबै कुरा बिर्सिएर ऐक्यबद्ध भएर निर्वाचनमा खटिन अपिल गरिएको छ । नवीन कांग्रेस, नयाँ युगको विकल्प’ का रूपमा अघि आएको तथ्य मतदातासमक्ष राखेर मतदाताको नवीन विश्वास गाँस्न प्रभावकारी अभियान अघि बढाउन परिपत्रमा जोड दिइएको छ ।

यसैगरी, कांग्रेसले चुनाव जित्ने नाममा जे पनि आश्वासन नदिनसमेत उम्मेदवारलगायतलाई सचेत गराएको छ। ‘स्थानीय मुद्दाहरू पहिचान गरेर त्यसप्रति पार्टीको प्रतिबद्धता व्यक्त गरिरहँदा ‘चुनाव जित्न जे पनि आश्वासन दिने’ गलत राजनीतिक प्रवृत्तिबाट होइन, स्थानीय नागरिक लाभान्वित हुनसक्ने कोणबाट टुंगोमा पुग्न,’ परिपत्रमा उल्लेख छ, ‘पूरा गर्न सकिने ‘फिजिबल’ र लाभ हासिल गर्न सकिने ‘भायबल’ कोणबाट हेर्न, बुझ्न र टुंगोमा पुग्नुपर्ने हुन्छ । राष्ट्रिय योजनाहरूबारे केन्द्रको टिमले दृष्टि निर्माण गर्नेछ, स्थानीय परियोजनाका सम्बन्धमा स्थानीय आवश्यकताका आधारमा धारणा निर्माण गर्ने सजगता पार्टीले राख्नुपर्नेछ–राख्नेछ।’

कांग्रेसले प्रतिस्पर्धी उम्मेदवारबारे स्वस्थ टिप्पणी गर्न, आलोचना गर्नुपर्दा विषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्न पनि आग्रह गरेको छ । ‘निर्वाचनको मैदान दुश्मनीको अखडा होइन, विचार र व्यक्तित्व प्रतिस्पर्धाको महायज्ञ हो’ परिपत्रमा भनिएको छ, “चुनाव मैदानमा रहेका कुनै पनि दल या उम्मेदवार नेपाली कांग्रेसका लागि दुश्मन होइनन् । चुनावी प्रतिस्पर्धा क्रममा यो संस्कृतिलाई सबैले आत्मसात गर्न सकुन् भनेर हामीले हाम्रो व्यवहारबाट सन्देश प्रवाहित गर्नुछ । नेपाली कांग्रेस आफ्ना प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरूबारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कका साथ गर्ने तर गाली नगर्ने नीति अख्तियार गर्दछ । निर्वाचनको मैदानलाई स्वस्थ र हार्दिक बनाउने कर्तब्य मुलतः दलहरूकै हो, यसमा अन्य सबै दललाई घच्घच्याउने भूमिका समेत कांग्रेसले निर्वाह गर्नुछ र गर्नेछ ।

घृणास्पद, उत्तेजक र भड्काउ प्रकृतिका अभिव्यक्ति नदिन उम्मेदवार र प्रचारकलाई आग्रह गरिएको छ । सामान्य र स्वस्थ प्रकृतिको व्यङ्ग्य निर्वाचन मैदानमा स्वभाविक हुने भए पनि सार्वजनिक प्रस्तुति सम्पूर्णतः संयमित र परिपक्व रहनुपर्ने कांग्रेसको ठहर छ । चुनाव सकिएको १५ दिनभित्र निर्वाचन आयोगलाई खर्च विवरण उपलब्ध गराउनसमेत कांग्रेसले आग्रह गरेको छ।

कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति बनाएको छ। यही समितिले नै बनाएको नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका– ०८२’ हालै केन्द्रीय कार्यसम्पादन समितिबाट पारित भएको थियो । कांग्रेसले १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर