भारतसँग टी–२० विश्वकप खेल्न पाकिस्तान राजी भए
काठमाडौं । पाकिस्तानले भारतसँग खेल्न अस्वीकार गरेपछि प्रारम्भ भएको १० दिन लामो तनाव अन्ततः टुंगिएको छ । २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपको समूह चरणमा तय भएको भारत–पाकिस्तान खेल फेब्रुअरी १५ मा कोलम्बोमा हुने भएको छ । यो खेललाई प्रतियोगिताको व्यावसायिक दृष्टिले सबैभन्दा ठूलो आकर्षण मानिएको थियो ।
सोमवार साँझ पाकिस्तान सरकार तथा आईसीसीबाट झण्डै एकै समयमा जारी भएका प्रेस विज्ञप्तिले यो निर्णय सार्वजनिक गरेका हुन् । पाकिस्तान सरकारको विज्ञप्तिमा श्रीलंका र यूएईसहितका केही आईसीसी सदस्य राष्ट्रहरूले अन्य देशहरूमा पर्ने आर्थिक असरको कारण देखाउँदै पाकिस्तान क्रिकेट बोर्डलाई खेल बहिष्कार नगर्न आग्रह गरेको उल्लेख गरिएको छ ।
साथै, पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ ले यस विषयमा श्रीलंकाका राष्ट्रपति कुमार दिसानायकेसँग प्रत्यक्ष कुराकानी गरेको पनि पुष्टि गरिएको छ ।पाकिस्तान सरकारको विज्ञप्तिमा भनिएको छः ‘बहुपक्षीय छलफलबाट प्राप्त नतिजा तथा मित्र राष्ट्रहरूको आग्रहलाई ध्यानमा राख्दै पाकिस्तान सरकारले १५ फेब्रुअरी २०२६ मा हुने आईसीसी पुरुष टी–२० विश्वकपको निर्धारित खेलमा पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीलाई मैदानमा उत्रन निर्देशन दिएको छ । यो निर्णय क्रिकेटको आत्मा जोगाउने र सहभागी सबै राष्ट्रहरूमा यो विश्वव्यापी खेलको निरन्तरता सुनिश्चित गर्ने उद्देश्यले लिइएको हो ।’
आईसीसीले पनि छलफल सफल भएको बताएको छ । आईसीसीको विज्ञप्तिमा भनिएको छ– ‘आईसीसी र पीसीबीबीचको संवाद दुवै पक्षबीचको व्यापक संलग्नताको हिस्सा थियो, जसले खेलको हितमा इमानदारी, तटस्थता र सहकार्यका साथ एकताबद्ध र उद्देश्यपूर्ण रूपमा अघि बढ्ने आवश्यकता स्वीकार गरेको छ । यही भावनामा, सबै सदस्यहरूले आईसीसी प्रतियोगितामा सहभागिताका सर्तअनुसार आफ्ना प्रतिबद्धता पूरा गर्ने र हाल चलिरहेको आईसीसी पुरुष टी–२० विश्वकप सफल बनाउन आवश्यक सबै काम गर्ने सहमति जनाएका छन् ।’
