इटालीमाथि स्कटल्याण्डको जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपको समूह चरणको खेलमा स्कटल्याण्डले इटालीमाथि ७३ रनको फराकिलो जित दर्ता गरेको छ। कोलकाताको इडेन गार्डेन्समा स्कटल्याण्डले दिएको २०८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा इटाली १६.४ ओभरमा मात्र १३४ रनमा समेटिन पुगेकाे हाे ।

विशाल लक्ष्य पछ्याउन मैदान उत्रिएको इटालीको सुरुवात राम्रो हुन सकेन। ओपनर जस्टिन मोस्का पहिलो ओभरमै शून्य रनमा आउट भए। इटालीका लागि बेन्जामिन मानेन्टीले ३१ बलमा सर्वाधिक ५२ रन बनाए पनि अन्य ब्याट्सम्यानले उनलाई बलियो साथ दिन सकेनन्।

ह्यारी मानेन्टीले ३७ रन र जेजे स्मट्सले २२ रनको योगदान दिए। इटालीका तीन ब्याट्सम्यान शून्य रनमा आउट भएका थिए भने कप्तान वेन म्याडसन घाइते भएका कारण मैदान उत्रन सकेनन्।

स्कटल्याण्डको इनिङ्सको चौथो ओभरमा जर्ज मुन्सेको ‘पुल सट’ रोक्ने क्रममा ४२ वर्षीय म्याडसनले देब्रेतिर डाइभ हानेका थिए। अभ्यास पिचमा नराम्ररी बजारिँदा उनको देब्रे काँध खुस्किएको छ । उनी पीडाले छटपटाउँदै मैदानबाट बाहिरिएका थिए र तुरुन्तै अस्पताल लगिएको थियो।

इटालीले आफ्नो दोस्रो खेल फेब्रुअरी १२ मा मुम्बईमा नेपाल विरुद्ध खेल्दैछ। कप्तान म्याडसनको चोट निको हुन कम्तीमा ७ देखि २१ दिन लाग्ने अनुमान गरिएको छ, जसले गर्दा उनले नेपाल विरुद्धको खेल गुमाउने लगभग निश्चित देखिएको छ। यो इटालीका लागि ठूलो क्षति हो किनभने म्याडसन टोलीका सबैभन्दा अनुभवी खेलाडी हुन्।

यता स्कटल्याण्डको जितमा स्पिनर माइकल लिक्सले उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभरमा मात्र १७ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए। त्यस्तै, मार्क वाटले ४ ओभरमा २४ रन दिएर २ विकेट झारे। ब्राडली क्युरी, ब्राड ह्विल र ओलिभर डेभिडसनले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेटकाे क्षतिमा २०७ रन बनाएकाे थियाे । स्कटल्याण्डका ओपनर जर्ज मुन्सेले उत्कृष्ट इनिङ खेल्दै टोलीलाई बलियो सुरुवात दिलाए। उनले ५४ बलमा १३ चौका र २ छक्काको मद्दतले ८४ रनको योगदान दिए। उनलाई ओपनर माइकल जोन्सले ३७ रन बनाएर साथ दिएका थिए। पहिलो विकेटका लागि यी दुई बीच १२६ रनको बलियो साझेदारी भएको थियो।

मुन्से आउट भएपछि क्रिजमा आएका ब्रान्डन म्याकमुलनले पारीलाई अझ आक्रामक बनाए। उनले मात्र १८ बलमा ४१ रन प्रहार गर्दै स्कटल्याण्डको स्कोरलाई २०० को पार लगाए । कप्तान रिची बेरिङटनले १५ रन जोडे। माइकल लिस्कले ५ बलमै २२ रन बनाए ।

विश्वकपमा डेब्यु गरिरहेको इटालीका बलरहरू आज निकै दबाबमा रहे । अलि हसनले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए। अरु महंगा सावित भए । ग्रान्ट स्टुअर्ट, जेजे स्मट्स र थॉमस ड्राकाले समान १-१ विकेट हात पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर