टी-२० विश्वकप: भारतद्वारा अमेरिका २९ रनले पराजित

काठमाडौं । आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत शनिबार राति सम्पन्न समूह ‘ए’ को खेलमा घरेलु टोली भारतले संयुक्त राज्य अमेरिका (यूएसए) लाई २९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

मुम्बईस्थित वानखेडे स्टेडियममा जितका लागि १६२ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो। अमेरिकाको सुरुवात निकै खराब रह्यो।

इनिङ्सको दोस्रो ओभरमै ओपनर एन्ड्रिज गसलाई गुमाएको अमेरिकाले १३ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो। मध्यक्रममा सञ्जय कृष्णमूर्ति र शुभम रन्जानेले पारी सम्हाल्ने प्रयास गरे। दुवैले समान ३७/३७ रन बनाए।

त्यस्तै मिलिन्द कुमारले ३४ बलमा ३४ रन जोडे। तर, भारतीय बलरहरूको कसिलो बलिङसामु अमेरिकाका ब्याटरहरूले आवश्यक रन रेट भेट्टाउन सकेनन्।

भारतका लागि मोहम्मद सिराज सबैभन्दा सफल बलर साबित भए। उनले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, अर्शदीप सिंहले ४ ओभरमा मात्र १८ रन दिएर २ विकेट लिँदा अक्षर पटेलले पनि २४ रन खर्चेर २ विकेट हात पारे। वरुण चक्रवर्तीले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले खराब सुरुवातका बाबजुद २० ओभरमा ९ विकेट गुमाई १६१ रनको सम्मानजनक योगफल तयार पारेको थियो। पावरप्लेमा ४६ रन जोड्दा ४ मुख्य विकेट गुमाएर सङ्कटमा परेको भारतलाई कप्तान सूर्यकुमार यादवले एकल प्रयासमा उकासेका थिए।

सूर्यकुमारले ४९ बलमा १० चौका र ४ छक्कासहित अविजित ८४ रनको शानदार ‘कप्तानी पारी’ खेले। अमेरिकाका लागि स्याड्ली भान स्काल्कविकले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए पनि ब्याटिङ नचल्दा अमेरिकाले नतिजा सुम्पिन पुग्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर