प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
काठमाडौं । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । हृदयाघातपछि थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको आज निधन भएको कलाकार केदार प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
“वरिष्ठ कलाकार सुनिल थापा दाइको अप्रत्याशित निधनको खबरले स्तब्ध बनाएको छ। नेपाली चलचित्र उद्योगले आज अर्को एक महान् व्यक्तित्व र बलियो धरोहर गुमाएको छ। कला क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान सधैँ स्मरणीय रहनेछ। भावपूर्ण श्रद्धाञ्जली दाइ, वैकुण्ठ वास होस्! थापाको निधन पछि घिमिरेले फेसबुकमा लेख्नु भएको छ ।
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएकी छन् ।
अभिनेता थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगत्ले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उनका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँका मन जित्न सफल भएको बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले शोक सन्देश जारी गर्दै कलाकार थापाका हरेक चरित्र हामी दर्शकका स्मृतिमा सदैव जीवित रहने बताएकी छन् । सन्देशमा उनले “चार दशकभन्दा बढी समयको उहाँको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ”, भनेकी छन् ।
