नेदरल्याण्ड्समाथि पाकिस्तानको जित
काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को उद्घाटन खेलमा पाकिस्तानले कठिन जित हात पारेको छ । श्रीलङ्काको सिंहलिज स्पोर्ट्स क्लब क्रिकेट मैदानमा खेल गुमाइसकेको पाकिस्तानले अन्तिममा नेदरल्याण्ड्समाथि ३ विकेटको जित दर्ता गरेको हो ।
नेदरल्याण्ड्सले दिएको १४८ रनको लक्ष्य पाकिस्तानले ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । लक्ष्य पछ्याउने क्रममा पाकिस्तानको सुरुवात राम्रो भए पनि मध्यक्रम धर्मराउँदा खेल अन्तिम ओभरसम्म पुगेको थियो। साहिबजादा फरहानले ३१ बलमा सर्वाधिक ४७ रन बनाएर टोलीलाई बलियो स्थितिमा राखेका थिए।
ओपनिङमा आएका सैम अयुबले २४ रन जोडे । तर, बीचको ओभरमा नेदरल्याण्ड्सका बलरहरूले कसिलो बलिङ गर्दै पाकिस्तानलाई ११४/७ को नाजुक अवस्थामा पुर्याएका थिए। फहीम अशरफले अविश्वसनीय प्रदर्शन गरे। उनले मात्र ११ बलमा २९ रन प्रहार गर्दै खेल पाकिस्तानको पक्षमा मोडे।
डच बलरहरूले खेललाई अन्तिम समयसम्म रोमान्चक बनाएका थिए। पल भान मिकरेन र आर्यन दत्तले समान २–२ विकेट लिए। अन्तिम ओभरमा ४ रन बचाउनु पर्ने कठिन जिम्मेवारी बास डी लिडको काँधमा थियो, तर पाकिस्तानका ब्याटरले ३ बल बाँकी छँदै जित दिलाए।त्यसअघि टस जितेर पाकिस्तानले पहिले बलिङ रोजेपछि ब्याटिङमा आएकाे नेदरल्याण्ड्सले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन जाेडेकाे थियाे ।
कप्तान स्कट एडवर्ड्सले २९ बलमा ३ चौका, १ छक्काकाे मदतमा ३७ रन प्रहार गर्दै टोलीको इनिङ्स सम्हाल्ने प्रयास गरे। त्यस्तै, बास डि लिडेले ३० रन र माइकल लेभिटले आक्रामक २४ रनको योगदान दिए। अन्तिम ओभरतिर आर्यन दत्तले ७ बलमा १३ रन जोड्दै टोलीको योगफल सम्मानजनक बनाएका थिए ।
नेदरल्याण्ड्स एक समय १२७/५ को स्थितिमा बलियो देखिएको थियो, तर १६औं र १७औं ओभरको अन्तरालमा पाकिस्तानले लगातार विकेट लिँदै दबाब सिर्जना गर्यो। विशेष गरी अबरार र साइम अयुबको स्पिन बलिङले खेलको गति पाकिस्तानको पक्षमा मोडेको थियो।
पाकिस्तानका स्पिनरहरू नेदरल्याण्ड्सका ब्याट्सम्यानमाथि हाबी भए। अबरार अहमदले ४ ओभरमा मात्र २३ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए। यस्तै, साइम अयुबले १ ओभरमा ७ रन दिएर २ विकेट लिए । यसैगरी मोहम्मद नवाजले पनि २ विकेट लिए। फास्ट बलर शाहीन शाह अफ्रिदी र सलमान मिर्जाले समान १-१ विकेट लिए।
