स्कटल्यान्डबाट नेपालले पायो १४१ रनको लक्ष्य
काठमाडौं । महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत अन्तिम खेलमा नेपालले स्कटल्यान्डबाट १४१ रनको लक्ष्य पाएको छ ।
कसिलो सुरुवात गरे पनि नेपालले अन्तिमतिर कमजोर फिल्डिङका कारण चुनौतीपूर्ण लक्ष्य पाएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित २० ओभरमा अलआउट हुँदै १४० रन बनायो । स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले मात्र २८ बलमा सर्वाधिक ४५ रन बनाइन् । त्यस्तै अलिसा लिस्टरले २२, मेगन मेकोलले १७, सारह ब्राइसले १८, रिचेल रोस्टरले ११ रन बनाइन् ।
बलिङमा नेपालका लागि मनिषा उपाध्यायले सर्वाधिक ४ विकेट निकालिन् । उनले चार ओभरमा १७ रन खर्चिँदै ४ विकेट निकालेकी हुन् । रुविना क्षेत्रीले ३, सीता राना मगर, कविता जोशी र रिया शर्माले एक/एक विकेट निकाले ।
दुवै टोलीका लागि आजको खेल सुपर सिक्सका लागि महत्त्वपूर्ण छ । यद्यपि नेपालका लागि भने स्कटल्यान्डलाई जितेर मात्रै पुग्दैन । जिम्बावेमाथि जित निकाले पनि नेपालको २ अंक मात्र रहेकोमा आज स्कटल्यान्डलाई ठूलो अन्तरले हराउनुपर्नेछ । पूर्ण राष्ट्र जिम्बावेमाथि शनिबार ६ विकेटको विजय हात पारेपछि नेपालको सुपर सिक्समा पुग्ने समीकरण ब्युँतिएको हो ।
