रिट फिर्ता लिए रूख चिह्नबाट साझा उम्मेदवार तय गर्ने कांग्रेसको राजनीति
काठमाडौं । पार्टी आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा पुगेका बेला रुख चिन्ह लिएर सँगै आसन्न निर्वाचनमा सहभागी हुने सहमति जुटाउने प्रयास गरिरहेको नेपाली कांग्रेसका परस्परविरोधी समूहका नेताहरूले बताएका छन्।
उनीहरूले अहिलेसम्मको संवादलाई सकारात्मक भन्दै सोमवारभित्र एउटा निष्कर्षमा पुग्न सके मङ्गलवार साझा उम्मेदवारहरू मनोनयन गरिने जनाएका छन्। निर्वाचन आयोगले अघिल्लो साता कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँदै सभापति गगन थापालाई चुनाव चिन्ह रुख दिने निर्णय गरेको थियो।
वार्तामा थापा समूहले उक्त विषयलाई लिएर पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको समूहले सर्वोच्च अदालतमा आइतवार दर्ता गराएको रिट निवेदन फिर्ता लिन माग गरेको बताइएको छ। देउवा पक्षले चाहिँ प्रत्यक्ष प्रणालीअन्तर्गत १६५ निर्वाचन क्षेत्रका उम्मेदवारहरूमध्ये ५० प्रतिशत हिस्सेदारी आफूलाई दिइनुपर्ने माग गरेको पनि नेताहरूले बताएका छन्।
आइतवारबाटै सुरु भएको भनिएको सहमति कायम गर्ने प्रयासमा तीनै पक्षका शीर्ष र केही दोस्रो तहका नेताहरू सम्मिलित रहेका छन् र उक्त सहमति कायम गर्ने प्रयास जारी रहेको नेताहरू बताउँछन्।
निर्वाचन आयोगबाट आधिकारिकता पाएको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालीसेले बीबीसीसँग भने, “पार्टीका सबै तहका नेताहरूसँग वार्ता संवाद चलिरहेको छ। सबैलाई मिलाएर एक ढिक्का बनाएर जाने प्रयासमा छौँ। हामीले पूर्वाग्रह राखेर काम पनि गर्दैनौँ। चुनाव लक्षित नै निर्णय हुन्छ। अन्तर पार्टी सङ्घर्षको असर टिकट वितरणमा पर्दैन। हामी सहमतिको नजिक छौँ”
सोमवार पार्टी सभापति गगन थापाले सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडिओ पोस्ट राख्दै ‘कानुनी परीक्षण’ गराउन अदालत गएका साथीहरूलाई पनि समेट्न आफूले प्रयास गरिरहेको बताएका छन्।
उनले भनेका छन्, “पार्टीका केही साथीहरूले यो (आयोगको निर्णय) चित्त बुझेन भनेर कानुनी परीक्षण खोजिराख्नुभएको स्थिति छ। कानुनी परीक्षण खोजिराख्नुभएको साथीहरूलाई पनि समेटेर लैजान हिजो साँझसम्म मेरो त्यही नै प्रयास रह्यो। त्यसको कारणले अहिले समयको एकदमै चाप रह्यो तर यो बीचमा पनि सकेसम्म मिलाउने कोसिस गरिरहेको छु।”
प्रवक्ता चालीसेले रुख चिन्ह लिएर टिकट प्राप्त गर्नका लागि अदालतमा दर्ता गराइएको मुद्दा फिर्ता लिन आफूहरूले आग्रह गरेको बताए।
उनी भन्छन्, “पार्टी एउटा प्रक्रियाबाट अघि बढिसकेपछि त्यसलाई स्वीकार गरेर जानु एउटा बुद्धिमानीपूर्ण काम हुन्थ्यो। आन्तरिक कुराहरू पार्टीकै फोरममा हामीले निरूपण गर्नुपर्छ। वास्तवमा अदालतको सहारा लिनुपर्ने जरुरी थिएन। जो साथीहरू अदालतमा जानुभयो उहाँहरूले पनि सभापतिकै हातबाट टिकट लिनुपर्छ। त्यसो हुँदा अदालतमा उजुरी गरिएको कुराको औचित्य समाप्त हुन्छ।”
उनले थपे, “यो सबै समायोजन भएपछि उजुरी फिर्ता हुनसक्ने सम्भावना पनि रहन्छ।”
असन्तुष्ट पक्षले दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले मङ्गलवार सुनुवाइ थाल्दै छ।
उक्त पक्षका एक जना नेता मीन विश्वकर्माले बीबीसीसँग कुरा गर्दै पार्टीका कार्यकर्ता र समर्थकहरूको भावनालाई ध्यान दिएर रुख चिन्हबाटै निर्वाचनमा सहभागी हुन नेताहरूले छलफल गरिरहेको बताए।
उनी भन्छन्, “निर्वाचनको सम्मुखमा पार्टीको आन्तरिक प्रक्रियागत मतभेद र साङ्गठनिक झगडाले निर्वाचन प्रभावित हुने भयो र कांग्रेस कमजोर हुने भयो। एकातर्फ निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध हिजो सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अरू बेला झगडा भए त ठिकै छ, केही थिएन। तर रुख चिन्हविरुद्ध मत माग्ने अवस्था नबनोस् भन्नका लागि नेताहरूका बीचमा सहमति खोजिरहेका छौँ।”
उनले थपे, “आज दिनभरमा सहमति खोज्यौँ भने रातभरमा साझा उम्मेदवार बनाएर कांग्रेसको पक्षमा मत माग्ने वातावरण बनाउनेछौँ।”
(समाचार साभार : बीबीसी नेपालीबाट)
