बार्सिलोना कोपा डेल रे को क्वार्टरफाइनलमा
काठमाडौं । साविक विजेता बार्सिलोनाले रेसिङ सान्टान्डरलाई २-० ले हराउँदै कोपा डेल रे को क्वार्टरफाइनलमा पुगेको छ । ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनाले दोस्रो डिभिजनको टोली सान्टान्डरविरुद्ध अपेक्षाकृत कठिन खेल खेलेको थियो।
६६ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै टोलीलाई अग्रता दिलाए। वैकल्पिक खेलाडी फेर्मिन लोपेजको पासमा टोरेसले गोल गरेका हुन्। खेलको इन्जुरी समयमा लामिन यामलले अर्को गोल गरेपछि बार्सिलोनाको जित पक्का भयो। खेलभरि बार्सिलोनाले बलको नियन्त्रण राखे पनि गोल गर्न निकै संघर्ष गरेको थियो।
सान्टान्डर स्पेनको दोस्रो डिभिजनको शीर्षस्थानमा रहेको टोली हो र अर्को सिजन ला लिगामा फर्किने लक्ष्यमा छ। यसैबीच, रियल म्याड्रिड बुधवार राति दोस्रो डिभिजनकै अल्बासेटेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
गत सिजन रियललाई हराउँदै उपाधि जितेको बार्सिलोनाले अब क्वार्टरफाइनलमा कुन टोलीसँग खेल्ने भन्ने टुंगो सोमवार लाग्नेछ। बिहीवार अर्को खेलमा भ्यालेन्सिया अन्तिम आठमा पुगेको छ। भ्यालेन्सियाले बुर्गोस सिएफलाई २-० ले हराएको छ।
