कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गते आह्वान, देउवा पक्ष अप्ठेरोमा
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले यही पुस २७ र २८ गतेका लागि केन्द्रीय विशेष महाधिवेशन आह्वान गरेका गरेका छन् । आज बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरले उक्त मिति घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा विशेष महाधिवेशन आयोजनाको सूचना तथा प्रचारपसार समितिका संयोजक सुवास पाखरेलले विधानको मर्म र भावनाअनुसार केन्द्रीय विशेष महाधिवेशन आयोजना गर्न लागिएको जानकारी दिए । उनले केन्द्रीय विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई सक्रिय र उत्साहपूर्ण रूपमा सहभागी हुन आग्रह गरे ।
उनले भने ‘विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही पुस २७–२८ गते काठमाडौँमा हुने गइरहेको केन्द्रीय विशेष महाधिवेशनमा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूको सक्रिय उत्साहपूर्ण उपस्थितिका लागि हार्दिक आग्रह गर्दछौँ । यसका लागि आवश्यक तयारी तीव्र गतिमा भइरहेको छ । पार्टी विधानको धारा १५ले केन्द्रीय महाधिवेशनलाई पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय मानेको छ । र यसले लिने हरेक निर्णय आफैैंमा वैद्यता प्राप्त गर्दछ । अतः हामीलाई विश्वास छ, पार्टी केन्द्रले आफ्नो दायित्व बुझ्नेछ, आयोजनाको स्वामित्व लिनेछ । विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउनु हामी सबैको साझा दायित्व हो । वर्तमान संवेदनशील घडीमा नेपाली काँग्रेसलाई एकताबद्ध गर्दै थप मजबुत बनाउन यो विशेष महाधिवेशन कोशेढुंगा साबित हुनेछ भन्ने विश्वास लिएका छौँ । पार्टीका सबै तह र निकायबाट यसमा पूर्ण सहयोग र योगदान प्राप्त हुने अपेक्षा समेत लिएका छौँ । विशेष महाधिवेशनको तयारीका लागि हामीले १८ वटा विभिन्न समिति पनि बनाएका छौँ । केन्द्रीय समितिलाई सधैँ सहयोग गर्न तयार भएको कारण हामीले कार्यकर्ता तहबाटै महाधिवेशन व्यवस्थापनका लागि समितिहरू बनाएका छौँ ।’
यो महाधिवेशनको आह्वानसँगै कांग्रेसका यथास्थितिवादी देउवा पक्षलाई अप्ठेरो परेको छ । उनीहरू आफ्नै गूटको छलफलमा जुटेका छन् ।
