राष्ट्रियसभा निर्वाचन : नेकपा आउट, एमाले, कांग्रेस र जसपा नेपालबिच गठबन्धन
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाएको छ। कार्यसम्पादन समितिको बैठकले प्रदेशगत रूपमा उम्मेदवार तय गरेअनुसार कोशीबाट सुनिलबहादुर थापा, मधेसबाट धमेन्द्र पासवान र सञ्जत कर्ण, बागमतीबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमल्सिना, लुम्बिनीबाट वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णालीबाट ललितबहादुर शाही तथा सुदूरपश्चिमबाट खम्मबहादुर खाती उम्मेदवार रहेका छन्। एमाले र जसपा नेपालसँग भएको सहमतिअनुसार कांग्रेसले ९ उम्मेदवार टुंगो लगाएको हो ।
यसैबीच महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पार्टीको कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन्। शर्माले मंगलबार बसेको र बुधबार बस्ने बैठकमा उपस्थित नहुने बताइएको छ । शर्माले उम्मेदवारी छनोटमा स्पष्ट मापदण्ड नबनाई पुरानै ६०–४० को भागबण्डाका आधारमा निर्णय गर्न खोजिएको भन्दै त्यसको साक्षी बस्न नसक्ने बताए ।
यसैबीच राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले र जनता समाजवादी पार्टी नेपालबीच मात्र तालमेल हुने भएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सँग सिटमा कुरा नमिलेपछि कांग्रेस, एमाले र जसपा नेपालले मात्र तालमेल गर्ने भएका हुन् । जसपा नेपालसँग पार्टी एकता गरेका महन्थ ठाकुरलाई १ सिट दिने तय भएको छ । नेकपाले आफ्नो मतभार अनुसार कम्तीमा ४ सिट दिनुपर्ने दाबी गर्दै आएको थियो ।
