अन्ततः बालेन र रवि एक भए, कुलमानले रुचाएनन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साह बालेनबीच विभिन्न विषयमा सात बुँदे सहमति भएको छ ।

बालेनले सामाजिक सञ्जालमार्फत सहमतिमा हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै शुभप्रभात लेखेका छन् । उनीहरूबीच आज बिहान सहमति भएको हो । सहमतिमा रास्वपा सभापति रवि लामिछाने र बालेनले हस्ताक्षर गरेका छन् ।

सार्वजनिक विवरणअनुसार नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागको यथोचित सम्बोधन गर्ने सहमतिमा उल्लेख छ ।

यस्तै पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने सहमति भएको छ ।

त्यसैगरी, सहमतिपछि स्थापित हुने राजनीतिक दल, चुनाव चिह्न र पार्टी कार्यालय नाम राष्ट्रिय स्वतन्त्र पार्टीको नै हुनेछ । पार्टीको सङ्गठनात्मक संरचनामा युवालाई सहभागी गराउनेलगायतका विषय समावेश गरिएका छन् ।

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

रवि, बालेन र ऊर्जा मन्त्री कुलमान घिसिङबीच एकता हुने गरी छलफल भए पनि अन्ततः कुलमान छुटेका छन् । उनीसँग रविले नै सहमति गर्न चाहेनन् । उता कुलमान संरक्षक रहेको उज्यालो नेपालले पनि पार्टीको अस्तित्व समाप्त हुने गरी कुनै पनि पार्टीसँग एकता नगर्ने निर्णय गर्यो ।

पार्टीको शनिबार काठमडौँमा बसेको केन्द्रीय समितिको बैठकले नाम, चुनाव चिह्न र पद सबै अरु पार्टीको हुने वा अरुको पार्टीमा विलय हुनेगरी एकता नगर्ने निर्णय गरेको केन्द्रीय सदस्य किरण विकले जानकारी दिए ।

पार्टीका संरक्षक एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री घिसिङ उपस्थित सो बैठकले वैकल्पिक र अग्रगामी सबै शक्ति मिलेर जानुपर्ने मान्यता राखे पनि कुनै पार्टीमा विलय हुन नदिने निर्णय गरेको सदस्य विकले बताए ।

केन्द्रीय समितिको बैठकले पार्टीको नाम, चुनाव चिह्न, सभापति र प्रधानमन्त्री आफ्नो पार्टीबाट हुनुपर्ने रास्वपाका सभापतिले राखेको प्रस्तावलाई अस्वीकार गर्दै आफ्नै पार्टीको नेतृत्वमा चुनावमा आउन वैकल्पिक र अग्रगामी सबै शक्तिलाई आह्वान गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर