भोलि प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबिच निर्णायक भेट हुँदै
काठमाडौं । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनलाई सुनिश्चित गर्न सरकारले राजनीतिक संवादलाई तीव्र पारेको छ। यसै सिलसिलामा प्रधानमन्त्री सुशीला कार्कीले शनिबार प्रमुख तीन दलका शीर्ष नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग महत्त्वपूर्ण भेटवार्ता गर्दैछन्।
बालुवाटारमा हुने यस भेटघाटको मुख्य उद्देश्य निर्वाचनका लागि साझा राजनीतिक सहमति जुटाउनु र सुरक्षा चुनौतीहरूको सामना गर्न दलहरूलाई विश्वासमा लिनु हो। पछिल्लो समय निर्वाचनको मिति र सुरक्षा अवस्थालाई लिएर विभिन्न दलहरूबीच मतभेद देखिन थालेपछि प्रधानमन्त्री आफैँले राजनीतिक गाँठो फुकाउन अग्रसरता लिएकी हुन्।
यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उहाँको गुण्डुस्थित निवासमा भेटवार्ता गरे । राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्वाचनमा केन्द्रित रहेर छलफल गरे । यसैगरी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गरेका थिए ।
राष्ट्रिय सहमति कायम गर्दै आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन वर्तमान सरकार क्रियाशील रहेको प्रतिक्रिया मन्त्री खरेलले दिएको छ । (तस्बिर फाइल)
