क्रान्तिकारी शक्तिहरूलाई एक हुन अपिल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै समाजवादी क्रान्तिको बाटोमा दृढताका साथ अगाडि बढ्न अपिल गरेका छन् ।
माओत्सेतुङको १३३औँ जन्म जयन्तीमा शुभकामना दिँदै प्रचण्डले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक र समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपिल गरेका हुन् ।
‘हामीले सामन्तवाद अन्त्यको वैचारिक र व्यवहारिक सङ्घर्षको एक चरण पूरा गरिसकेका छौँ । यसले हाम्रो वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र क्रान्तिकारी प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ’, प्रचण्डले भनेका छन्, ‘यस परिस्थितिमा मार्क्सदेखि लेनिन, माओ हुँदै नेपाली क्रान्तिकारी अनुभवसम्मका सबै योगदानलाई संश्लेषण गर्दै ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै समाजवादी क्रान्तिको बाटोमा दृढताका साथ अगाडि बढ्नु कम्युनिष्ट क्रान्तिकारीहरूको कार्यभार बनेको छ ।’
