शेरबहादुरजी संसद पुनर्स्थापनाका लागि जानुस् भनेको हुँ : प्रचण्ड
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै चाहनाअनुसार प्रतिनिधिसभा पुनर्स्थापनाको रिट सर्वोच्च अदालतमा पुगेको खुलासा गरेका छन्।
आफूले हालै सभापति देउवासँग भेट गर्दा प्रतिनिधि सभा पुनर्स्थापना रिटबारे जिज्ञासा राखेको र त्यस क्रममा सभापति देउवाले आफ्ना नेताहरूलाई सर्वोच्च पठाएको बताएको प्रचण्डले खुलासा गरेका हुन्।
कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरे र सचेतक सुशीला थिङसहित ८ निवर्तमान सांसदहरू प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा रिट लिएर सर्वोच्च पुगेका थिए भने अहिले बहुमत जुटाउने भन्दै कांग्रेसका ६६ बढी निवर्तमान सांसदले हस्ताक्षर गरिसकेका छन्।
तर घिमिरे र थिङसहित हस्ताक्षर गरेका निवर्तमान सांसदहरूले स्वतस्फूर्त रूपमा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि रिट दिएको दाबी गर्दै आएका छन्। यो कुरा संयोजक प्रचण्डले पत्रकार राजेन्द्र बानियाँसँग नेपाल लिडको ‘प्रष्ट प्रश्न’ अन्तर्वार्ताका क्रममा खुलासा गरेका हुन्।
