आफ्नो शरीरमाथि ओलीले राखेको विष बोकैरै लड्ने रविको प्रण

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई सिध्याउन षड्यन्त्र भएको दाबी गर्दै शरीरमा हालिएको ‘विष’ बोकेरै भए पनि लड्ने उद्घोष गरेका छन् । चितवनको भरतपुरस्थित चौबीसकोटीमा आज शनिबार भेला भएका आफ्ना समर्थकलाई सहकारी ठगी प्रकरणमा थुनामुक्त भएलगत्तै गर्दै उक्त उद्घोष गरेका हुन् ।

गत बिहीबार उच्च अदालतको आदेशपछि शुक्रबार रिहा भएका लामिछानेले आफ्नो रिहाइपछिको पहिलो सार्वजनिक मन्तव्यमा राज्यसत्ता र पुराना दलहरूप्रति कडा आक्रोश पोखे। गाडीको छतबाट सम्बोधन गर्दै लामिछानेले भने, ‘ममाथि निकै तरबारहरू छन्। मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा छैन, तर तिनले मेरो शरीरमा हालिदिएको विष बोकेर म आज पनि बाँचेको छु। म यो विष लिएरै पनि लड्छु, शरीरमा एक थोपा रगत रहुन्जेल लड्छु।’

‘मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्थ भएर हेलिकप्टरमा झुन्डिएर भागे पनि तिनले झुन्ड्याइदिएको मुद्दा यो शरीरमा बोकेर बाँचेको छु, तर मलाई केही फरक पर्दैन’, उनले भने। उनले भने, ‘जिते पनि सांसद हुन पाउँदैन, मन्त्री हुन पाउँदैन भन्नेहरूलाई भन्न चाहन्छु- म मान्छे हुन त पाउँछु नि! मान्छे मात्र रहेछु भने पनि भ्रष्टाचारीको महल खरानी बनाउन रवि लामिछाने एक्लै पर्याप्त छ।’

‘हामीले फूल बोकेर निलो क्रान्ति सुरू गर्यौं, कसैको सिउँदो पुछिएन, कसैको काख रित्तिएन। तर यिनले टेरेनन्, यिनले लातको भूत सम्झिए’, उनले भने। उनले सरकारलाई जेन-जीको माग सम्बोधन गर्न र सुशासन कायम गर्न चुनौती दिँदै त्यसो भएमा मात्र साथ दिने, नत्र निर्वाचनको विकल्प नरहेको बताए।

उनले भने, ‘अब भोट बाँडेर दिने काम नगर्नुहोला। कि मलाई र मेरो पार्टीलाई ‘जिरो’ बनाइदिनुस्, होइन भने एकपटक यिनीहरू (पुराना दल) लाई ‘जिरो’ पारेर हेरौँ, बल्ल देश ‘हिरो’ हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर