ईश्वर पोखरेलको बधाई तथा शुभकामना
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदमा पराजित नेता ईश्वर पोखरेलले पार्टी पदाधिकारी तथा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित नेताहरूलाई बधाई तथा शुभकामना दिएका छन्।
अन्तिम मतपरिणाम सार्वजनिक भएपछि पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई तथा शुभकामना दिँदै पार्टीमा लोकतन्त्र, ‘नियन्त्रण र सन्तुलन’ को सिद्धान्तको पालनजस्ता विषयहरूले नयाँस्तरमा निरन्तरता पाउने विश्वास व्यक्त गरे।
‘नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशन-२०८२ (मंसिर २७-पुस ३) सम्पन्न भएको छ। महाधिवेशनमा निर्वाचित अध्यक्षलगायत सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्य तथा केन्द्रीय निकायमा निर्वाचित कमरेडहरूमा बधाई तथा कार्यकालको सफलताको शुभकामना। महाधिवेशनमा योगदान पुर्याउनु हुने महाधिवेशनका प्रतिनिधि कमरेडहरूलाई धन्यवाद व्यक्त गर्दछु,’ पोखरेलले फेसबुकमा लेखेका छन्।
आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने नेता पोखरेलले उल्लेख गरेका छन्।
