चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य
काठमाडौं । चितवन राइनोजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएलमा) पोखरा एभेन्जर्सलाई १२१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शनिवारको डे-नाइट म्याचमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस जितेर ब्याटिङ गरेको चितवनले ६ विकेटको क्षतिमा एक सय २० रन बनाएको हो। चितवनले तेस्रो ओभरको पहिलो बलमा सात रन बनाउँदा तीन विकेट गुमाएको थियो।
चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए। सैफ जैब १७ रन बनाउँदै पेभेलियन फर्के। ओपनर डेविड मलान पाँच तथा अर्जुन साउद र रवि बोपारा एक–एक रन बनाउँदै आउट भए।
कप्तान कुशल मल्ल २३ रन बनाउँदा क्याच आउट नै हुन पुगे। अल्पेश रम्जानी ३३ र कमल ऐरी तीन रनमा नटआउट रहे। चितवनलाई कम स्कोरमा रोक्न पोखराका धनन्जय लक्षणले तीन विकेट लिए। विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले समान एक विकेट आफ्नो नाममा गरे। दुवै टोली प्लेअफ होडबाट बाहिरिसकेकोले यो खेलको कुनै अर्थ हुने छैन। दुवै टोली अन्तिम खेलमा जितसहित प्रतियोगिता सकाउन चाहन्छन्।
