एनपीएल : जनकपुरको लगातार तेस्रो हार

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा पोखरा एभेन्जर्सले तेस्रो खेलमा जित हात पारेको छ । साविक विजेता जनकपुर बोल्ट्सले भने लगातार तेस्रो खेल हारेको छ । आज भएको दोस्रो खेलमा पोखरा र जनकपुर भिडेका थिए । टस जितेर पोखराले पहिला ब्याटिङ गरेको थियो । सुमित वर्माको अर्धशतकको मद्दतमा पोखराले १५५ रनको स्कोर बनाएको थियो ।

१५६ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पूरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो । जनकपुरमाथि पोखराले २५ रनको जित हासिल गरेको हो । जनकपुर बोल्ट्सका लागि वायने पार्नेलले अर्धशतक प्रहार गरे पनि जितसम्म पुर्‍याउन भने सकेनन् ।

आठौं नम्बरमा ब्याटिङ गरेका उनले ३८ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाएका थिए । यस्तै सञ्जय कृष्णमूर्तिले २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै २५ रन बनाए भने माज सदाकतले २० रन जोडे ।

जनकपुरको ब्याटिङ अर्डरलाई ध्वस्त पार्ने क्रममा पोखराका विपिन खत्रीले ४ ओभरमा १५ रन मात्र खर्चेर ४ विकेट लिए । यस्तै सुमित वर्माले ३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कप्तान कुशल भुर्तेल र जिमी निशमले १-१ विकेट लिए ।

पोखराले सुमित वर्माको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । पोखराका लागि युगान्डाका अलराउण्डर सुमितले २९ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए । यस्तै दिनेश खरेलले ३९, तृतराज दासले २९ र एडम रोसिङग्टनले २४ रन जोडे ।

जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । कप्तान अनिल शाह र ललित राजवंशीले समान १ विकेट लिए । पोखरा र जनकपुर दुवैले यसअघि सुरुवाती दुवै खेलमा हार व्यहोरेका थिए । यो जितपछि पोखराले प्लअफ दौडमा आफूलाई कायम राखेको छ भने जनकपुरका लागि बाँकी चारै खेल नकआउट जस्तै हुनेछन् । भोलि पनि दुई खेल हुँदै छन् । पहिलो खेल चितवन राइनोज र काठमान्डु गोर्खाजबीच र दोस्रो खेल विराटनगर किंग्स र कर्णाली याक्सबीच हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर