सबै टिकट बिक्री, रंगशाला वरपर भीडभाड नगर्न प्रहरीको अनुरोध

काठमाडौं ।  कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट रंगशालामा आजदेखि शुरू हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण हेर्न जाने दर्शकका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक व्यवस्थापन योजना बनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार एनपीएल हेर्न जाँदा गाडी, मोटरसाइकल, स्कुटर लगायत लिएर जानेका लागि सहज बनाउन विभिन्न ठाउँमा पार्किङको व्यवस्था गरिएको हो ।

उच्च पदस्थका गाडीलाई त्रिवि खेल मैदानको मुख्य गेटभित्र, दर्शकका लागि तीनकुने नजिकको खेल मैदान, घडी आइल्याण्डको नजिकको खेल मैदान, आयुर्वेदिक अस्पताल परिसर, त्रिवि गेटदेखि उपकुलपति कार्यालयसम्मको सडक किनार, सुन्दरीघाट सानेपा खोला करिडोरलाई तोकिएको छ । ट्राफिक प्रहरीले जथाभावी पार्किङ नगरी तोकिएको ठाउँमा मात्र पार्किङ गर्न अनुरोध पनि गरेको छ ।

यसैबीच जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले सूचना जारी गर्दै खेल स्थल बाहिर भीड नगर्न अनुरोध गरेका हुन्।

‘आजको खेलका सम्पूर्ण टिकटहरू सोल्ड आउट भएको जानकारी सम्बन्धित संस्थाबाट जानकारी प्राप्त हुन आएकोले टिकट नभएका सम्पूर्ण खेल प्रेमी महानुभावहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न, खेल स्थलको बाहिर भिड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गर्ने नागरिक दायित्व निर्वाह गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर