नयाँ विशेषतासहितको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने एनपीएलका लागि रंगशालालाई अत्याधुनिक सुविधा सम्पन्न बनाइएको छ । खेल मैदानमा बनाइएका आकर्षक भौतिक संरचनाका कारण क्रिकेटप्रेमी युवाहरु उत्साहित भएका छन् । कीर्तिपुरस्थित पहाडको काखमा, नेपाली क्रिकेटको भविष्यले आकार लिँदैछ । त्रिभुवन विश्वविद्यालय परिसरमा बनेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अब केवल सपना मात्र होइन, सरकारको राष्ट्रिय प्राथमिकता बनिसकेको छ ।

१० अर्ब रुपैयाँको लागतमा निर्माण भएको यो रंगशाला सहरी विकास मन्त्रालयको गुरुयोजना अन्तर्गत बनेको हो । यो रंगशालालाई ३० हजार दर्शक अट्ने क्षमताको बनाइएको छ । अब, आधुनिक संरचना, डिजिटल स्कोरबोर्ड, फ्ल्ड लाइट र दर्शकका लागि सुविधासम्पन्न सिटसहितको रंगशालाले खेलप्रेमीहरुमा नयाँ उत्साह थपेको छ ।

एनपीएलको दोस्रो संस्करण अत्याधुनिक सुविधा सम्पन्न खेल मैदानमा हुँदै छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु सहभागी हुने प्रतियोगितालाई लक्षित गरी प्यारापिटको निर्माण गरिएको छ । विगतमा दिउँसोको समयमा मात्र प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता थियो । तर अब खेल मैदानमा जडान गरिएको फ्लड लाइटका कारण रातको समयमा पनि प्रतियोगिता सञ्चालन गर्न सकिने भएको छ ।

जसले गर्दा नेपालमा पहिलो पटक डे-नाइट खेलहरू आयोजना गर्नेगरी लिगको खेल तालिका बनाइएको छ । भौतिक पूर्वाधारअन्तर्गत मैदान र पिचको समेत पुन: निर्माण गरिएको छ । ड्रेनेज सिस्टम अर्थात वर्षा पछि छिटो सुक्ने उच्चस्तरीय जलनिकास प्रणालीको समेत व्यवस्था गरिएको छ । यस्तै, शौचालय, फुड कोर्ट, दर्शक र खेलाडी दुवैका लागि मेडिकल सुविधाको पनि व्यवस्था गरिएको छ । डिजिटल स्कोरबोर्ड, आपतकालीन निकासद्वार र एम्बुलेन्सको पनि व्यवस्थापन गरिएको छ ।

एनपीएलको पहिलो संस्करण भब्य रुपमा सम्पन्न भएपनि मैदानको स्तरोन्नतिका कारण थप उत्साह बढेको र यो रंगशाला नेपालको गौरव भएको खेलप्रेमीहरुको भनाइ छ । गुरुयोजना अनुसार यो रंगशाला आईसिसी मान्यता प्राप्त हुने गरी निर्माण गरिएको हो । कीर्तिपुरको क्रिकेट रंगशाला अब केवल मैदान मात्र होइन, यो नेपाली खेलकुदको गौरव, भविष्यको आधार र विश्वसामु प्रस्तुत हुने नेपालीको पहिचान बन्ने विश्वास खेलप्रेमीको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर