एनपीएल उद्घाटन खेलको सबै टिकट बिक्री, घरमा बसेर खेल हेर्न अनुरोध
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को भोलि हुने उद्घाटन खेलका लागि राखिएका सबै टिकटहरू बिक्री भइसकेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो खेलका लागि टिकट उपलब्ध नभएका वा प्राप्त गर्न नसकेका दर्शकहरूलाई घरमै बसेर खेल हेर्न अनुरोध गरेको छ।
क्यानका सचिव पारस खड्का ले सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै टिकट नपाएका दर्शकहरूलाई रङ्गशालामा आएर हुलहुज्जत वा भीडभाड नगर्न आग्रह गरेका छन्। उनले दर्शकहरूले घरमै बसेर खेल हेर्दै एनपीएल क्रिकेटलाई सहयोग र समर्थन गर्नेमा आफू विश्वस्त रहेको बताए। सचिव खड्काले भविष्यमा विश्वस्तरका धेरै खेलाडीहरूलाई नेपालमा ल्याएर खेलाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सकारात्मक सन्देश दिन आवश्यक रहेको उल्लेख गरेका छन्।
हाल त्रिवि क्रिकेट रङ्गशालामा सिट संख्या सीमित भएकाले क्यानले उद्घाटन खेलका लागि करिब आठ हजार टिकट बिक्रीका लागि खुल्ला गरेको थियो। यसबाहेक, करिब दुई हजार टिकट खेलाडीका परिवार, प्रायोजक तथा आयोजकलगायतका लागि छुट्याइएको छ। यस्तै, थप तीन हजार सिट पदाधिकारी, खेलसँग सम्बन्धित अधिकारी र पाहुनाका लागि आरक्षित गरिएको छ।
