अभिनेता धर्मेन्द्र अस्पतालबाट निको भएर घर फर्के
काठमाडौं । बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र अस्पतालबाट निको भएर घर फर्किएका छन्। हालै मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचाररत रहेका धर्मेन्द्र डिस्चार्ज भई अहिले घरमै आराम गरिरहेका छन्। उनको स्वास्थ्यबारे सामाजिक सञ्जालमा फैलिएर गएको निधनसम्बन्धी गलत सूचना र अफवाहपछि परिवारले औपचारिक विज्ञप्ति जारी गर्दै उनी पूर्ण रूपमा स्वस्थ हुँदै गएको पुष्टि गरेको हो।
परिवारको भनाइअनुसार, धर्मेन्द्र अहिले घरमै चिकित्सकको सल्लाहअनुसार स्वास्थ्यलाभ गरिरहेका छन् र यस अवधिमा गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोध गरिएको छ। डा. प्रतीत सामदानीका अनुसार, अभिनेता धर्मेन्द्रलाई बिहानी ७:३० बजे अस्पतालबाट डिस्चार्ज गरिएको हो र अब उनको नियमित उपचार घरमै जारी रहने छ। गत अक्टोबर ३१, २०२५ मा सास फेर्न कठिनाइ भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
