नयाँदिल्ली कार विस्फोटबाट मोदी दुःखी

काठमाडौं । भारतको राजधानी दिल्लीको लाल किल्ला नजिकै भएको कार विस्फोटमा ज्यान गुमाएकाहरूप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै घटनाको अवस्थाबारे गृहमन्त्री अमित शाहसँग समीक्षा गरेको बताएका छन्।

मोदीले आफ्नो पोस्टमा भनेका छन्, ‘आज साँझ दिल्लीमा भएको विस्फोटमा आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति समवेदना। म घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। अधिकारीहरूले यो विस्फोटबाट प्रभावित भएका मानिसहरूलाई सहयोग गरिरहेका छन्।’

उनले थप जानकारी दिँदै, ‘मैले गृहमन्त्री अमित शाहजी र अन्य अधिकारीहरूसँग स्थितिको समीक्षा गरिसकेको छु।’ यसअघि केन्द्रीय गृहमन्त्री अमित शाहले घटनाको प्रारम्भिक विवरण सार्वजनिक गरेका थिए। शाहका अनुसार, ‘सोमबार साँझ करिब ७ बजेतिर, लाल किल्ला नजिकै सुभाष मार्ग ट्राफिक सिग्नलमा एउटा आई–२० गाडीमा ब्लास्ट भएको छ।’

यसैबीच कार विस्फोट भएको घटनामा गृहमन्त्री अमित शाहले प्रतिक्रिया दिएका छन्। गृहमन्त्री अमित शाहले समाचार एजेन्सी एक विज्ञप्ति जारी गर्दै भने, ‘आज साँझ ७ बजेतिर, लाल किल्ला नजिकै सुभाष मार्ग ट्राफिक सिग्नलमा एउटा आई-२० कार विस्फोट भयो। विस्फोटमा नजिकैका केही सवारी साधन र पैदल यात्रीहरू घाइते भएको र प्रारम्भिक रिपोर्टहरूले हताहत भएको सङ्केत गर्दछ।’

शाहले घटनाको जानकारी पाएको १० मिनेटभित्रै दिल्ली अपराध शाखा र दिल्ली विशेष शाखा (प्रहरी) का टोलीहरू घटनास्थलमा पुगेको जानकारी दिए। उनले एनएसजी, एनआईए टोलीहरू र एफएसएलसँगसँगै अब गहन अनुसन्धान सुरु गरिसकेको बताएका छन्। वरपरका सबै सिसिटिभी क्यामेरा र अन्य उपकरणहरूको जाँच गर्न आदेश दिइएको पनि उनले बताए।

‘मैले दिल्ली प्रहरी आयुक्त र विशेष शाखाका इन्चार्जसँग कुरा गरेको छु, उनीहरू घटनास्थलमा उपस्थित छन्। हामी सबै सम्भावनाहरूको खोजी गरिरहेका छौँ र सबै सम्भावनाहरूलाई ध्यानमा राखेर गहन अनुसन्धान गरिनेछ,’ गृहमन्त्री शाहले भने।

राहुल गान्धीद्वारा दुःख व्यक्त

कांग्रेस सांसद तथा लोकसभामा विपक्षी नेता राहुल गान्धीले पनि यस कार विस्फोटप्रति प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘दिल्लीको लाल किल्ला मेट्रो स्टेसन नजिकै भएको कार विस्फोटको खबर अत्यन्तै पीडादायी र चिन्ताजनक छ। यस दुखद दुर्घटनामा धेरै निर्दोष मानिसहरूको मृत्युको खबर अत्यन्तै दुःखद छ।’

उनले शोक सन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै सबै घाइतेहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको आशा व्यक्त गरेका छन्। सोमबार साँझ लाल किल्ला मेट्रो स्टेसन नजिकै भएको यो विस्फोटपछि नजिकैका धेरै सवारी साधनहरू क्षतिग्रस्त भएका छन्। दिल्ली प्रहरी आयुक्तका अनुसार विस्फोटमा केही व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुने वा घाइते हुनेहरूको आधिकारिक तथ्याङ्क अहिलेसम्म सार्वजनिक गरिएको छैन।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर