कांग्रेस र एमाले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा, सांसदहरूको हस्ताक्षर लिएर अदालत जाने तयारी
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा सांसदहरूको हस्ताक्षर अभियान सुरु गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हालको सरकार गठन र प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको थियो ।
कांग्रेसका निवर्तमान सांसद श्यामकुमार घिमिरेले सरकार गठन र विघटन दुबै असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । तर, अहिले नै संसद् पुनस्र्थापनाका लागि पहल गर्ने भन्ने विषयमा अन्तिम निर्णय नभएको बताए ।
‘नेपाली कांग्रेसले सरकार गठन र विघटन दुबै असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गरिसकेको छ । त्यसैले त्यसको विरोधमा न्यायालयको ढोका ढकढक्याउन हामीले हस्ताक्षर अभियान थालेका हौं’ उनले भने ।
उनका अनुसार, विघटित प्रतिनिधिसभाका सांसदहरूले संकलन गरेको हस्ताक्षर सूची पार्टी नेतृत्वलाई बुझाइनेछ । ‘हामीले यो सिग्नेचर पार्टीमा बुझाउनेछौं,’ उनले भने, ‘निर्णय पार्टीले एकताबद्ध भएर गरोस् भन्ने हाम्रो आग्रह हो ।’ यसअघि प्रमुख विपक्षी दल नेकपा (एमाले) ले पनि संसद् पुनस्र्थापनाको मागसहित हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ ।
