एन्फाविरुद्ध खेलाडी संघको धर्ना
काठमाडौं । नेपाली फुटबलमा विगत केही वर्षयता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिता विरुद्ध फुटबलका सरोकारवालाहरूले बिहीबार बिहान अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा एक घण्टा धर्ना दिएका छन्।
उनीहरूले एन्फा मुख्यालयमा प्रदर्शन गर्दै ‘एन्फा फुटबल एशोसिएशन कि कन्सलटेन्सी’, ‘विश्वकप त चार वर्षमा आउँछ, ए डिभिजन कहिले आउँछ?’, ‘नो गेम, नो फ्रेम: एन्फाज टु ब्लेम’, ‘घरेलु लिग चलाउ: फुटबल बचाउ’, ‘वाक्क लाग्दो एन्फा: दिक्क लाग्दो नेपाली फुटबल’, र ‘फुटबल क्यालेन्डरमा होइन, ग्राउण्डमा चाहियो’ लगायतका प्लेकार्डहरू बोकेका थिए।
एन्फाभित्रको नेतृत्व विवाद र आर्थिक पारदर्शिताको मुद्दाले नेपाली फुटबललाई लामो समयदेखि गाँजेको छ। हालै धुलिखेलमा सम्पन्न साधारण सभामा क्लबहरूले अध्यक्ष पंकजविक्रम नेम्वाङमाथि आर्थिक अनियमितताको आरोप समेत लगाएका छन्। एन्फाले २०८२ मा फुटबल गतिविधिका लागि १ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको दाबी गरे पनि यसको विस्तृत हिसाब सार्वजनिक नहुँदा केही क्लबहरूले असन्तुष्टि जनाएका छन्।
