माओवादी त्याग्दै जनार्दनले खोले प्रगतिशील अभियान नेपाल
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादीसहितका विभिन्न दल र समूहसँग एकता गरेपछि एकता प्रक्रिया बहिष्कार गरेका जनार्दन शर्माले पनि माओवादी त्यागेका छन् । शर्माले आज पत्रकार सम्मेलन गरेर प्रगतिशील अभियान चलाउने घोषणा गरेका हुन् ।
उनले प्रचण्ड माधव नेपालको नीतिमा लम्पसार परेको आरोप लगाए । तर, आफूले देशव्यापी रुपमा प्रगतिशील अभियान चलाउने र देशको नेतृत्व युवाको हातमा पुर्याउने शर्माको घोषणा छ ।
उनले अब देशव्यापी रुपमा युवा पुस्तालाई जोडेर अभियान चलाउनेपनि घोषणा गरे । शर्माले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राख्दै गर्दा माओवादीको महाधिवेशन आयोजक समितिले भने एकीकृत समाजावादीसहितका दलहरुसँग गरेको एकता घोषणालाई अनुमोदन गरेको छ ।
यसैगरी माओवादी केन्द्र छाडेका नेता राम कार्कीले नेपालमा माओवादी आन्दोलन संसदीय व्यवस्थामा डुबुल्की मारेर सकिएको टिप्पणी गरेका छन् । पत्रकार सम्मेलनमा माओवादीले गरेको जनयुद्धले समाजका सबै अन्तरविरोधलाई सतहमा ल्याइदिएको बताउँदै नेता कार्कीले त्यो सकारात्मक ऊर्जालाई राजनीतिमा प्रयोग गर्न सकिएको भए मुलुक रुपान्तरित हुनसक्थ्यो भनेका छन् ।
वाम धुव्रीकरण घोषणाबारेको पत्रकार सम्मेलनमा माओवादी आन्दोलनबारे टिप्पणी गर्दै उनले भने, ‘फेरि सशस्त्र संघर्ष नै निरन्तर लैजानु सम्भव थिएन तर, संसदीय व्यवस्थामै डुबुल्की मारेर पूर्ण रूपमा सकिनु गलत भयो ।’
