नेकपा एसमा फूट, दर्जनौं नेता माओवादीमा नजाने
काठमाडौं । नेकपा एकीकृत समाजवादीका एक दर्जन बढी नेताहरू नेकपा माओवादी केन्द्रसँगको एकतामा सामेल नहुने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुक्रवार बसेको पार्टी केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गर्ने गरेको नेतृ रामकुमारी झाँक्रीले बताइन् । यद्यपि, पार्टीको विभिन्न जिम्मेवारीमा रहेका एकदर्जनभन्दा बढी नेताहरू एकतामा समाहित नहुने झाँक्रीले बताइन् । पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाँक्रीले माओवादीसँग वाम एकता नभई पार्टी मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरू एकतामा समाहित नहुने बताइन् ।
पार्टी मर्जरको प्रक्रियाले वामपन्थी आन्दोलनलाई सुदृढ गर्नुको सट्टा पार्टीभित्र तानाशाही प्रवृत्तिलाई बढवा दिने उनको बुझाई छ । उनले वाम एकताका लागि एमाले लगायत अन्य राजनीतिक दलहरूसँग संवाद समेत नगरेको कारण दुई पार्टीबीचको मर्जरले मात्र विद्यमान समस्या हल गर्न नसकिने बताइन् । वाम आन्दोलनलाई बलियो बनाउने कुरा भन्दा पनि केही नेताहरूको व्यक्तिगत एजेन्डा हाबी भएको कारण आफूहरू पार्टी एकतामा सामेल नहुने उनको भनाइ छ ।
