दुर्गा प्रसाइँको आत्मालोचना : “मलाई केही चाहिँदैन, म सुध्रिन तयार”

काठमाडौं । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले आफूलाई ‘सुध्रिन तयार’ रहेको बताएका छन् । देश छोडेर जानुपर्ने अवस्था आए त्यसका लागि पनि आफू तयार रहेको उनको भनाइ छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले भने, ‘तपाईंहरू भन्नुहुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने पनि म रेडी, म जान तयार । म जान्छु । मलाई लोभ छैन । मलाई केही चाहिँदैन ।’

२०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिएका प्रसाईंले आफ्नो राजनीतिक यात्राको चर्चा गर्दै जानेर वा नजानेर जेजस्ता कर्महरू भए पनि अब सुध्रिएर देश निर्माणमा लाग्नुपर्नेमा जोड दिए । ‘ल हिजो जे भयो-भयो, आफैंले बाटो बिर्सियौं। सबैले भुल्यौं । अब त कमसेकम देश जोगाउने, त्यो भुंग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं’, उनले भने, ‘मान्छेले न्यानोपन खोजेको छ । अब यसमा सुध्रिन पर्नेछ ।’

 ‘जानेर यहाँ आएँ, नजानेर यहाँ आएँ। तपाईंहरूले गाली गर्दैगर्दा पनि यहाँ आएँ,’ प्रसाईंले भने, ‘तपाईंहरूसँग लडेर आएको हो नि त । मेन स्ट्रिमको मिडियाले त मलाई कहिल्यै राम्रो लेखेन नि, कहिल्यै लेखेन जीवनमा । मेरो नराम्रो लेख्यो, राम्रो कहिल्यै लेखेन ।’

गत चैत १५ गते प्रसाईंको नेतृत्वमा काठमाडौंको तिनकुनेमा राजसंस्था पुनर्स्थापनाको पक्षमा गरिएको प्रदर्शन हिंसात्मक बनेको थियो । सो घटनापछि भागेर भारत पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडि बढाएको थियो । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि उच्च अदालतले उनलाई छाड्ने आदेश दिएको थियो ।

गृह मन्त्रालयले वार्तामा बोलाएको भोलिपल्ट पत्रकार भेटघाट गर्दै प्रसाईंले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत वार्तामा बोलाएर जनताको आवाज सुन्ने प्रयास गरेको भन्दै सरकारी कदमको स्वागत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर