अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ को पाँचौं त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत अमेरिकाले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनाएको हो ।

अमेरिकाका लागि ओपनर स्मित पटेलले उत्कृष्ट प्रदर्शन गर्दै १०० बलमा ९ चौकाको मद्दतले सर्वाधिक ७५ रन बनाए। उनी करण केसीको बलमा सोमपाल कामीको हातबाट रन आउट भएका थिए । यस्तै, साइतेजा मुक्कमल्लाले पनि ५८ बलमा ३ चौकासहित ४२ रनको योगदान दिएका थिए। उनीहरुले ९५ रनको साझेदारी गरेका थिए ।

त्यस्तै, मिलिन्द कुमारले आक्रामक इनिङ खेल्दै ५० बलमा ६ चौका र २ छक्का प्रहार गरी अविजित ७० रन जोडे।

नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ५६ रन खर्चेर सर्वाधिक २ विकेट लिए। यसबाहेक, सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट हात पारेका थिए।

त्रिकोणात्मक सिरिजमा नेपाल, अमेरिका र युएई छन् । जारी लिगमा नेपाल चार सिरिजमा १६ खेल खेलेर १२ अङ्कका साथ सातौँ स्थानमा छ । अमेरिका २० खेलमा २८ अङ्कका साथ दोस्रो स्थानमा छ । लिग–२ मा सहभागी आठ राष्ट्रले कूल नौ सिरिजमा जम्मा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन सिरिज खेल्नेछन् भने ६ सिरिज अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोटमा सहभागी हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर