जेन–जी आन्दोलनपछिको अवस्था ‘दुई दिनको लीला’ : ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नोसहित शङ्का लागेका सबैको सम्पत्ति निष्पक्ष ढङ्गबाट छानबिन गर्न माग गरेका छन् ।
प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रह्का अध्यक्ष ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको र सुशासनका पक्षमा सदैव दृढ रहेको जनाउँदै सम्पत्ति छानबिनका लागि आफू तयार रहेको स्पष्ट गरे । उनले बेथिति, विकृति र भ्रष्टाचार अन्त्यसहित सुशासन र सामाजिक सञ्जाल सञ्चालनको मुद्दा उठाएर जेनजी समूहले गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई धनजनको क्षति भएको प्रसङ्ग उल्लेख गरे ।
“म कुनै आवेग र आक्रोशमा भन्दा सत्य स्थापित होस् भन्ने चाहन्छु । म हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्छ र मुलुकमा समृद्धि, समानता र शान्ति कायम हुनुपर्दछ भनी देश र जनताप्रति सदैव बफादर हुँदै आएको छु । सत्यप्रतिको मूल्यमान्यताबाट कहिल्यै विचलित हुन्न”, अध्यक्ष ओलीले भने, “सत्यको पक्ष लिँदा अहङ्कार र दम्भको भाषा बोल्यो भन्ने पर्न सक्छ । उक्त घटनाको यथार्थ क्रमशः खुल्दै जाला, हामी जनताको शान्ति, न्याय र लोकतन्त्रका पक्षमा कसैसँग सम्झौता नगरी लागिरहने छौँ ।” निर्वाचनको सहज वातावरण नभएको आशङ्का गर्दै एमाले अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाका पुनःस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट गरे ।
ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गरे । सरकारले बैंक खाता रोक्ने भनेको उल्लेख गर्दै उनले आफू सांसद, प्रधानमन्त्री रहँदाको तलबभत्ताको केही रकम बैक खातामा रहेको बताए । उनले खातामा २०÷२५ लाख रुपैयाँ हुनसक्ने बताए ।
उनले भने ‘मैले एक पैसा भ्रष्टाचार गरिन । ए बाबा तपाईँहरू पनि एउटा टोली बनाएर छानबिन गर्नुस् न, हो । अरूको सक्नुहुन्न भने केपी ओली एउटाको छानबिन गर्नुस् न । गर्दिनुस् त त्यति ल । गर्नुस्, पत्रकार महासङ्घले गरेपनि हुन्छ, सम्पादक मण्डलले गरेपनि हुन्छ । एउटा बनाउनुस् न । अनि, तर के भने मेरो घरको, डढेको घरको खरानीको कण कणको तपाईँहरूले हिसाब गर्नुपर्नेछ । कति कमाएछ भने, नभए त्यो बाहेक त छैन म सँग । त्यही गन्ने होला ? खाता रोक्का गर्ने भनेको पनि सुन्छु ।’
ओलीले जेन–जी आन्दोलनपछिको अवस्थालाई ‘दुई दिनको लीला’ भनेर टिप्पणी गरे । उनले यस्ता तामासा देखेर आफू किञ्चित नआत्तिएको जिकिर गरे। ‘तपाईंहरू अँध्यारो मुख किन नलगाएको भन्नुहुन्छ फेरि। यो दुई दिनको लीला हो क्या यो, दुई दिनको लीला,’ उनले भने, ‘यस्ताको तमासाहरू देखेर, कसले नचाएको छ कठपुतली, त्यही देखेर म अँध्यारो मुख लगाएर बस्छु?’
उनले आफू नलत्रिने बताए। ‘यो देश बनाउन हिँडेको हुँ म आफैं जेन–जी हुँदा। जेन–जी उमेरमा भर्खर टेकेको थिएँ १४ वर्षको उमेरमा । त्यहाँदेखि हिँडेको अनि म लत्रिएर अँध्यारो मुख लगाएर बस्छु,’ दुई दिने जेन–जी आन्दोलनबाट सत्ता छाड्न बाध्य भएका ओलीले थपे, ‘शाही कू पनि देखेको छु। १४ वर्ष जेल पनि देखेको छु। नेल–हतकडी लगाएर गोलघरभित्र बसेको पनि याद छ मलाई। यस्ता अनेक झेलेर आएको छु। फेरि पनि मलाई यस्ता दु:ख कष्ट झेल्न कुनै गाह्रो छैन।’ उनले कसैले दु:ख दिँदैमा देशप्रतिको आफ्नो इमान र समर्पण भावमा कुनै कमी नहुने बताए।
अध्यक्ष ओलीले केही समयपछि ओलीलाई फेरि प्रधानमन्त्री बनाऔं भनेर विशेष सम्पादकीय लेख्ने दाबी गरेका छन्। उनले अहिलेकै परिस्थिति कायम रहे केपी ओली पुन: प्रधानमन्त्री बन्ने सम्भावना बढ्ने बताउँदै सो दाबी गरेका हुन्। सुरक्षा चुनौती भएका व्यक्तिहरूको सुरक्षा खोसेर सरकारले वडाध्यक्ष, मेयर र आफ्ना निकटहरुको सुरक्षा बढाएको कुरा जनताले एक दिन बुझ्ने उनले बताए।
यही अवस्थामा फेरि प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ। जनताले यो कुरा त सहँदैन। फेरि ल्याऔं केपी ओलीलाई, अरूबाट हुँदैन रहेछ। यस्तो अराजक हुन्छ देशमा भन्ने चल्छ,’ उनले भने,’अहिले अलि मेलो पाउनु भएको छैन। अलि पछाडि मेलो पाउनुहुनेछ र सम्पादकीय लेखेर भन्नुहुनेछ- केपी ओली फिर्ता ल्याऔं भनेर। विशेष सम्पादकीय लेख्नुहुनेछ।’
ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्तिका लागि आफूले सिफारिस नगरेको स्पष्टीकरण दिएका छन्। आफूले राष्ट्रपति र प्रधानसेनापतिसँगको भेटमा संविधान भित्रबाट समाधान खोज्न मात्र सिफारिस गरेको बताए। उनले आफूले दिएको पत्रको विवरण समेत सम्पादकहरुलाई सुनाए।
‘वर्तमान असहज र असाधारण अवस्थामा परिस्थितिलाई नियन्त्रण गरेर संविधान र लोकतान्त्रिक परिपाटी र शान्तिपूर्ण स्थितिमा फर्काउने पर्ने भएकाले यस्तो समाधान संविधान र लोकतान्त्रिक प्रणाली र प्रक्रियाभित्र खोज्नका लागि सम्माननीय राष्ट्रपति संविधानको रक्षक र पालक भएको हुनाले संविधान भित्रबाट अहिलेको पस्थितिकोका लागि उपयुक्त कदम चाल्नका लागि आवश्यक चाल्नु’, ओलीले आफूले लेखेको पत्रको व्योहोरा उल्लेख गर्दै भने, ‘मैले लेखेको यति हो।’
एक हप्ता अघि नेकपा माओवादी केन्द्रका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बनेको बताएका थिए। पेरिसडाँडामा शनिबार आयोजित कार्यक्रममा प्रचण्डले उक्त पत्रको विवरण आफूले पढेको दाबी गरेका थिए।
प्रचण्डको भनाइको खण्डन गर्दै ओलीले पत्र सार्वजनिक गर्न चुनौती दिएका हुन्। ‘मसँग पत्रको प्रति छैन। परेका बेला त्यो प्रति निस्कन्छ, कहीँ नभए राष्ट्रपतिकहाँछ’, ओलीले भने, ‘सुशीला कार्कीको नाम मैले कतै सिफारिस गरेको छु भने फ्ल्यास गर्दिए हुन्छ। प्रचण्डजीसँग प्रमाण छ भने निकाल्दिएहुन्छ। मप्रति निकै माया गर्नुहुन्छ उहाँ। निकाल्दिए भयो नि त।’
उनले आफूले राजीनामा दिइसकेपछि सुशीला कार्कीले शपथ ग्रहण नगरेसम्म आफूले मोबाइलसम्म हेर्न नपाएको गुनासो गर्दै आफ्नो मोबाइल सेनाले सिज गरेको दुःखेसो पोखे ।
